अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतिस्पर्धामा आर्या र खुसी विजयी

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

अमेरिकाका सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबिच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया आर्या खनाल प्रथम भएकी छिन्। सात सहरकै बिच भएको नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीया खुसी अधिकारी विजेता घोषित भइन्।

नेपाली जातिका मानिसहरूको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसबर्ग, ल्यानकास्टर, पिट्सबर्ग र स्क्रान्टन सहरका प्रतिभाहरूले भाग लिएका थिए।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोन सहरमा डिसेम्बर २० र २१ मा भएको प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुशा चापागाईं दोस्रो भइन्। कोलम्बसकै कुन्जन सुवेदी गायनतर्फ तेस्रो हुँदा ह्यारिसबर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो भइन्।

अमेरिकामै जन्मे–हुर्केका नेपाली जातिका बालबालिका र किशोरकिशोरीहरूलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्न विगत १० वर्षदेखि काम गरिहेको बताउँदै फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिनुपर्दा पनि नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा गरेको उल्लेख गरे। उनले फाउन्डेसनले सात सहरहरूमा सातवटा नेपाली नृत्य र संगीतका कक्षाहरू सञ्चालन गरिरहेको जानकारी पनि दिए। यी कक्षाहरूमा १३ सय नेपाली मूलका बालबालिका, किशोरकिशोरीहरु अध्ययनरत छन्।

सुझावित समाचार