किराना पसलबाट अनुदानको रासायनिक मल जफत

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

किसानका लागि अनुदानमा उपलब्ध गराएको रासायनिक मल अवैध रूपमा भण्डारण गरी कालोबजारी गर्ने धन्दामा संलग्न एक व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका– १०, पचेहरास्थित मनोज किराना पसलमा लुकाइछिपाई राखिएको एक सय दुई बोरा मलसहित पसल सञ्चालक गोरखनाथ बनियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
अवैध मल भण्डारण गरिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पकडीबाट प्रहरी निरीक्षक सुवास खतिवडाको नेतृत्वमा खटिएको टोलीले एक लाख ३६ हजार चार सय रुपैयाँ मूल्यको ६२ बोरा डिएपी र ३० हजार दुई सय मूल्यको ४० बोरा युरिया गरी कुल एक लाख ६६ हजार ६ सय रुपैयाँको मल बरामत गरेको हो ।

पछिल्लो समय कपिलवस्तुमा अनुदानको मल अभाव सिर्जना गराई कालोबजारी र अवैध भण्डारणका घटना बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा पारेको जनाएको छ । ‘किसानलाई सहुलियतमा उपलब्ध गराइने अनुदानको मल लुकाएर राख्नु गम्भीर अपराध हो । यस्ता कार्यले कृषक मारमा पर्छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले भने । 

सुझावित समाचार