विभिन्न कारणले शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि सिराहाको गोलबजारमा पूर्वछनोट तथा रेफरलमा आधारित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गोलबजार नगरपालिकाको सहयोगमा गोर्खा वेलफेयर ट्रस्टले शनिबार थालेको तीनदिने स्वास्थ्य शिविरमा आइतबारसम्म १११ महिला र १४९ पुरुष गरी २६० जना शारीरिक अपांगता भएकाहरूको जाँचसहित कृत्रिम अंग मापन गरिएको जनाएको छ। ट्रस्टका अनुसार शिविरमा जाँच र मापन गरिएका १६३ जनालाई कृत्रिम अंग र सहयोगी सामग्री वितरण गरिएको छ ।
ट्रस्टका कार्यक्रम प्रबन्धक जय लिम्बूका अनुसार पालिकाको स्वास्थ्य शाखामार्फत गाउँबस्तीमै पुगेर पहिचान गरिएका विभिन्न प्रकारका शारीरिक अपांगता भएका व्यक्तिहरूको शिविरमा जाँच गरी नक्कली हात, खुट्टा, घुमफिरका लागि सघाउने लौरो, ह्विलचियर, वाकर, बैसाखीलगायतका सामग्री वितरण गरिएको हो । ‘पूर्ण रूपमा अशक्त भएकाहरूको अवस्था सुधारका लागि डेभलपमेन्ट एडअन्तर्गत इलेक्ट्रिकल म्याट्रेससमेत दिइएको छ,’ उनले भने ।
उनका अनुसार पालिकाका स्वास्थ्यकर्मीले गाउँघरमै पुगेर पहिचान गरिएका अपांगता भएका व्यक्तिहरूलाई विशेषज्ञ जाँचसहित सहयोगी सामग्री दिइएको हो ।
नगरपालिकाको स्वामित्वमा रहेको अस्थायी कोभिड अस्पतालमा सञ्चालित शिविरमा आइतबारसम्म १ देखि ९ नम्बर वडा क्षेत्रका बिरामीको जाँच गरिएका नगर स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले जानकारी दिए।