पूर्वी पहाडी जिल्ला संखुवासभामा म्याकेडेमिया नट उत्पादन, प्रशोधन तथा बजारीकरणबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
शनिबार जिल्लाको चैनपर नगरपालिकास्थित दिलकुमारी स्मृति भवनमा समाज विकास केन्द्र (सोडेक) ले कार्यक्रमको आयोजना गरेको हो ।
सोडेक संस्थाको सहयोगमा २०६८ सालमा स्वीस विज्ञको सहयोगमा संखुवासभा जिल्लामा म्याकेडेमिया नट खेतीको सम्भाव्यता अध्ययन गरि २०६९ सालबाट संखुवासभा जिल्लामा परिक्षण खेती शुरु गरिएको थियो।
संखुवासभामा २०७१ सालबाट शुरु भएको यो परियोजनामा हालसम्म जिल्लाको १० वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहका ७ सय ५० कृषक परिवार आवद्ध भई खेती गरिरहेको सोडेकका प्रतिनिधी पर्शुराम दाहालले बताए । उनको अनुसार, संखुवासभामा हाल करिब ३० हजार विरुवाहरु रोपिएका छन भने करिब पाँच सय विरुवाबाट उत्पादन शुरु भएको छ । अहिलेको बजार मुल्य अनुसार प्रति केजी ३ हजार रुपैया बिक्री हुने गरेको छ ।
कृषकहरुलाई खेती प्रविधि, नर्सरी स्थापना, मल उत्पादन, बगान व्यवस्थापन सम्बन्धि तालिम सोडेक संस्थाले प्रदान गर्दै आएको दाहालको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले म्याकेडेमिया नटलाई नगदे बालीका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिर्दै खेती गरी आत्मनिर्भर बन्न सकिने धारणा राखे । उनले आम कृषकहरुले ब्याबसायिक खेती गरि उत्पादन गरेको सामानको प्रशोधन र बजारीकरण ब्यबस्थापनमा संस्थाले गरिदिन सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका खाद्य प्राविधिक कृष्णप्रसाद राईले म्याकेडेमिया नट बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले म्याकेडेमिया नटमा पर्याप्त मात्रामा पौष्टिक आहार पाइने र प्रोटिन बढि पाइने भएकाले मानव शरीरलाई धेरै फाइदा पु¥याउने बताए । संखुवासभामा म्याकेडेमिया नट खेतीको संम्भावना राम्रो रहेको समेत बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, पाँचखपन नगरपालिकाका मेयर विपीन राई, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका श्याम राई, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यालय प्रमुख नवराज गुरुङ, कृषक र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा म्याकेडेमिया नटबाट बनेको विभिन्न परिकारहरूको प्रदर्शनका साथै स्वाद समेत चखाएका थिए । संखुवासभामा म्याकेडेमिया नटलाई नयाँ बालीको रुपमा अगाडी बढाउर्दै यसको फाइदा, उच्च मूल्य र व्यावसायिक सम्भावनाबारे सहभागीहरूलाई जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सोडेकको भनाइ छ ।
म्याकेडेमिया नट खेती प्रवद्र्धन गर्न संखुवासभाका पाँचखपन, चैनपुर, मादि र धर्मदेवी नगरपालिकाहरुले बजेट बिनियोजन गरी सहयोग गरिरहेको जनाइएको छ ।
४ सय मिटर देखी १ हजार पाँच मिटर सम्मको उचाईमा म्याकेडेमिया नटको खेती गर्न सकिने सोडेकले जनाएको छ । थोरै कृषि श्रमिकबाट नै खेती गर्न सकिने, सुख्खा तथा अधिक वर्षाले पनि धेरै असर नगर्ने, जंगली जनावरले पनि विनाश नगर्ने, तथा लामो समयसम्म पनि भण्डार गर्न सकिने र स्वदेश तथा विदेशमा पनि उच्चमूल्य प्राप्त गर्न सकिने बालीको रुपमा म्याकेडेमिया नटलाई पहिचान गरिएकाले नयाँ बाली तर्फ आकर्षित गर्ने उद्धेश्य रहेको सोडेकले जनाएको छ ।