चिसोले रौतहटका गरिब तथा दलित बस्ती प्रभावित

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

जिल्लामा पछिल्लो तीन दिनदेखि लगातार रूपमा बढ्दै गएको चिसोका कारण गरिब तथा विपन्न समुदायका सर्वसाधारणहरू गम्भीर समस्यामा परेका छन्।

विशेष गरी जिल्लाका विभिन्न दलित बस्तीका बासिन्दाहरू पर्याप्त ओढ्ने–ओछ्याउनेको अभावमा कठोर जाडो सहन बाध्य भएका छन् ।

जिल्लाका अधिकांश दलित बस्तीमा बसोबास गर्ने परिवारहरूसँग न्यानो लुगा, कम्बल तथा सिरकजस्ता सामग्री नहुँदा उनीहरू पराल ओछ्याएर र सुकुल तथा चटाई ओडेर रात बिताउन बाध्य छन् । शीतलहर र बाक्लो हुस्सुले चिसो अझ बढाउँदा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

चन्द्रपुर नगरपालिका वडा नम्बर १० चेतनगरको मुसहर बस्तीका बासिन्दा चन्द्र माझीका अनुसार जाडो बढेसँगै दैनिकी झनै कठिन बनेको छ। ‘दैनिक ज्याला–मजदुरी गरेर घर चलाउँदै आएका हामीजस्ता गरिबहरू जाडोका कारण काममा जान सकिरहेका छैनौँ,’ उनले भने, ‘मजदुरी गर्न नसक्दा हातमुख जोड्नसमेत समस्या भएको छ ।’

सोही बस्तीकी ६० वर्षीया देवरतिया देवीको अवस्था पनि निकै दयनीय छ। सानो फुसको घरमा बस्दै आएकी उनीसँग ओढ्ने–ओछ्याउने केही नभएकाले परालको चट्टाई ओछ्याएर र त्यसैलाई ओडेर सुत्न बाध्य भएको बताउँछिन्। ‘जाडो छल्ने कुनै उपाय छैन, जे छ त्यहीले रात काट्नुपर्छ,’ उनले गुनासो गरिन् ।

रौतहटका गरिब, दलित तथा विपन्न बस्तीहरू हरेक वर्ष शीतलहर र हुस्सुको चपेटामा पर्दै आएका छन्। तर, यस्ता बस्तीहरूमा राहत तथा न्यानो सामग्री वितरणतर्फ प्रदेश सरकार र स्थानीय तहको ध्यान पुग्न नसक्दा उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ ।

स्थानीयले जाडो बढ्दै जाने क्रममा प्रभावित समुदायका लागि तत्काल न्यानो कपडा, कम्बल तथा राहत सामग्री वितरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
 

सुझावित समाचार