सभामुखका लागि मधेशमा जसपा नेपाल र एमालेको उम्मेदवारी दर्ता

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

मधेशको सभामुख पदका लागि सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ । सातदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका हुन् ।

सातदलीय गठबन्धनका साझा उम्मेदवार यादवले प्रदेश सभा सचिवालयमा दिउँसो करिब १ बजे उम्मेदवारी दर्ता गराए । यादवको उम्मेदवारीमा कांग्रेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा माओवादीका फकिरा महतो समर्थक छन् । उम्मेदवारी दर्ताअघि बसेको गठबन्धनको बैठकले सर्वसम्मत रूपमा यादवलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गठबन्धनले प्रदेश सभामा स्थायित्व, सहकार्य र निष्पक्ष संसदीय अभ्यासलाई सुदृढ बनाउने उद्देश्यले अनुभवी नेतालाई अघि सारिएको जनाएको छ । एमालेबाट त्रिलोकी प्रसादले दिउँसो करिब ३ बजे सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारीमा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रस्तावक तथा जयचन्द्रप्रसाद पटेल समर्थक छन् ।

प्रस्तावक र समर्थक दुवै एमालेका प्रदेश सांसद हुन् । उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले संसदीय प्रक्रिया, विधि र विधानको पालना गर्दै प्रदेश सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमताका आधारमा प्रसादलाई उम्मेदवार बनाइएको जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार सभामुख चयनका लागि आइतबार दिउँसो १ बजे मतदान हुनेछ ।

यसअघि २६ कात्तिकमा सभामुख रहेका रामचन्द्र मण्डललाई कांग्रेससहित सात दलका ७६ सांसदको समर्थनमा पदअनुसारको आचरण नगरेको भन्दै पदमुक्त गरिएको थियोे । सभामुख पद रिक्त भएपछि जनमतबाट उपसभामुख रहेकी रहँदा बबिताकुमारी राउत इसरले प्रदेश सभाको बैठक सञ्चालन गर्दै आएकी हुन् । प्रदेश सभामा सातदलीय गठबन्धनको स्पष्ट बहुमत छ ।

See More On

सुझावित समाचार