राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका सहिद परिवारसँग भेट गरेका छन् । बबरमहलस्थित जेन–जी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा परिवारजनसँगको कुराकानीमा उनले बालबालिकाको हत्या गर्नेलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय अदालतमा उभ्याइने प्रतिबद्धता जनाए ।
‘म घुमाउरो ढंगले मिलाएर बोल्न जान्दिनँ, यिनीहरूले मलाई जेसुकै गरून् । यिनीहरू (कांग्रेस–एमाले सरकार)ले बच्चा मारेका हुन् । यसलाई मैले भोटको विषय बनाएँ भने पाप लाग्छ । त्यसकारण म कहिल्यै पनि यसो गर्नेछैन,’ लामिछानेले भने, ‘म नक्खु गए नि जाउँला, सेन्ट्रल जेल गए नि जाउँला । मलाई केही छैन, म न्यायको पक्षमा लड्नेछु । पार्टी सभापतिका रूपमा, व्यक्तिका रूपमा र भोलि निर्वाचित भइसकेपछि जुन अवस्थामा हामी पुग्छौँ त्यो अवस्थाबाट अन्तिमसम्म तपाईंहरूका तर्फबाट लड्नेछु ।’
बालबालिकालाई टाउको र छातीमा ताकेर गोली हानिएको भन्दै उनी सम्बोधनका क्रममा भक्कानिएका थिए । ‘म जेलबाट निस्केर घरको दैलो टेकेको छैन । म तपाईंहरूकहाँ आएको छु । मेरा ठाउँठाउँमा मुद्दा छन्, के हुन्छ थाहा छैन,’ उनले भने, ‘तर, मलाई यी भाइबहिनीहरूले न्याय पाउनुपर्छ भन्ने थाहा छ । देशको कुण्डमा तपाईंहरूका छोराछोरी चढेका छन्, यो खेर जाँदैन । हामी खेर जान दिँदैनौँ,’ उनले भने ।
लामिछानेले २३ भदौको घटनालाई कत्लेआमको संज्ञा दिए र त्यसका विरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाए । ‘त्यस दिन (२३ भदौमा) भएको आमहत्या हो । टाउको–छातीमा हानिएको छ । भिडन्त होइन । कत्लेआम हो । मैले देखेको छु । तर, गर्न सक्ने ठाउँमा म थिइनँ । तपाईंहरूको आँखा पत्रिकामा देखेँ,’ भावुक भएर लामिछानेले भने, ‘मेरो क्षमता, पार्टीको क्षमता कति हुन्छ थाहा छैन । तपाईंहरूलाई साथ दिन्छौँ । नआत्तिनुस् एउटा छोरा गुमाउनुभयो, यहाँ अरू लाखौँ छोरा जिउँदै छन् । एक थोपो रगत खेर जान दिँदैनौँ, तपाईंहरूको साथमा छौँ ।’