चोरी तथा डाँकासम्बन्धी कसुरमा कास्की प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा महानगरपालिका–१ भिमकाली पाटन बस्ने सुशील नेपाली, पोखरा–२३ घर भई हाल पोखरा–१ भिमकाली पाटन बस्ने आशिष नेपाली सुनार, पोखरा–२३ बस्ने विजय पराजुली, पोखरा–२३ बस्ने अस्मिता नेपाली र मुस्ताङ थासाङ गाउँपालिका–२ घर भई हाल पोखरा–१ बाघबजार बस्ने तुलबहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता÷सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार १ पुसका दिन १५ः४० बजेको समयमा माछापुच्छ्रे गाउँपालिका–६ ठूलोकुना बस्ने ८२ वर्षीया एक महिला बाटोमा हिडिरहेको अवस्थामा अपरिचित व्यक्तिहरू आई लछार पछार गरि दुवै कानमा लगाएको सुनको रिङ चोरी फरार भएको र सोही दिन दिउँसो १६.५५ बजे पोखरा–१९ पुरनचौर बस्ने ६५ वर्षीया एक महिला बाटोमा हिँडिरहेको अवस्थामा तीनजना अपरिचित व्यक्तिहरू आई उनले दुवै कानमा लगाएको सुनको रिङ चोरी गरी फरार रहेको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धानपछि उनीहरूलाई पक्राउ परेको हो ।
पक्राउ परेका उनीहरूबाट प्रहरीले २४ लाल नौ प्वाइन्ट तौलको सुनको डल्लो एक थान, एक तोला पाँच लाल तौलको हातमा लगाउने सुनको बाला दुई थान, ४५ लाल पाँच प्वाईन्ट तौलको कानमा लगाउने रिङ दुई थान, नगद ६० हजार, मोबाइल तीन थान, ग६प ५१८२ नम्बरको स्कुटर थान बरामद गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले १ पुसमा आशिष, विजय र शुशील १५ः४० बजेको समयमा ग६प ५१८२ नम्वरको स्कुटरमा गई माछापुच्छ्रे र सोही दिन १६.५५ बजेको समयमा पोखरा–१९ पुरनचौरमा चोरी गरी फरार भएको देखिएको बस्नेतले जानकारी दिए । उनीहरूलाई पक्राउपछि आशिषको डेराकोठामा लगी लुकाईछिपाई राखेको अवस्थामा रिङ र बालासँगै ६० हजार नगद प्रहरीले फेला पारेको थियो । चोरी गरिएका गहनाहरूमध्ये आशिष र उनकी श्रीमती अस्मिताले एक जोर रिङ पोखरा–१ स्थित मुक्तिनाथ सुनचाँदी पसलमा लगि बिक्री गरेको अनुसन्धानमा खुलेको बस्नेतले जानकारी दिए ।
त्यसपछि प्रहरीले मुक्तिनाथ सुनचाँदी पसलमा खानतलासी गर्दा खरिद गरेको एक जोर कानमा लगाउने रिङ पगालेर डल्लो पारी प्लास्टिकमा राखेको भेटिएको थियो । त्यसपछि प्रहरीले चोरीमा संलग्न तीनजनासँगै चोरी गरिएको धनमाल बिक्री वितरण गर्ने कार्यमा संलग्न अस्मिता र तुलबहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।