भारतको इस्ट बंगाल एफसी पहिलो साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली शसस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले हराउँदै भारतको लिग च्याम्पियन इस्ट बंगाल पहिलो संस्करणको उपाधि जित्न सफल भयो ।
एपिएफले सुरुका तीनै गोल व्यक्तिगत खेलाडीको गल्तीका कारण व्यहोरेको थियो । यसअघि राष्ट्रिय टोलीले १३ पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेको कथा एपिएफले पनि दोहोर्याएको छ । एपिएफ पहिलो क्लब च्याम्पियनसिपमै उपविजेतामा सीमित बन्यो ।
बंगाललाई उपाधि जिताउन युगान्डाकी स्ट्राइकर फजिला इक्वापुतले दुई तथा सिल्किदेवी हमामले एक गोल गरिन् । पाँच राष्ट्र सहभागी लिगमा एपिएफ र इस्ट बंगाल अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन् । इस्ट बंगालले प्रतियोगिताको पाँचै खेलमा ‘क्लिन सिट’ राखेको छ । इस्ट बंगालले मैदानमा तीन विदेशी खेलाडी उतार्दा एपिएफ भने विदेशी खेलाडीविना खेलेको थियो । सुरुबाटै विदेशी खेलाडीको बलियो साथ पाएको कोलकाताको महारथि क्लब इस्ट बंगालले एपिएफलाई दबाबमा राख्यो । च्याम्पियन भएसँगै भारतको लिग च्याम्पियन इस्ट बंगालले १० हजार अमेरिकी डलर र उपविजेता एपिएफले पाँच हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा माल्दिभ्स र श्रीलंकाका कुनै पनि टोली सहभागी भएनन् । साफले यो क्षेत्रका महिला खेलाडीको स्तरवृद्धिका लागि प्रतियोगिता आयोजना गरेको हो । साफले प्रत्येक देशका लिग च्याम्पियनलाई यो प्रतियोगितामा सहभागिता गराउने निर्णय गरेको थियो । जसअन्तर्गत भारतबाट इस्ट बंगाल, नेपालबाट एपिएफ, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानबाट कराँची सिटी एफसी र बंगलादेशबाट नासरिन स्पोर्टस् एकेडेमी सहभागी भएका थिए । तालिकामा इस्ट बंगाल पहिलो र एपिएफ दोस्रो स्थानमा रहेर सीधै फाइनलमा स्थान बनाएका थिए । ९ गोल गरेकी फजिला नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् । बंगालकै इलाङबाम पान्थोई चानु सर्वाेत्कृट गोलकिपर बनेकी छिन् । उनी खेलेको पाँचै खेलमा ‘क्लिन सिट’ राख्न सफल भइन् ।
एपिएफले आफ्नै गल्तीले व्यहोर्यो तीन गोल
बलियो भारतीय प्रतिद्वन्द्वीविरुद्ध एपिएफ फितलो देखियो । बंगालले लगातार एपिएफविरुद्ध दबाब बनायो । दबाब खेप्न नसकेको एपिएफले तीनै गोल आफ्नै गल्तीमा व्यहोरेको थियो । इस्ट बंगालविरुद्ध दबाब सिर्जना गर्नै सकेन । खेलको २२औँ मिनेटमा इस्ट बंगाललाई कप्तान फजिला इक्वापुटले अग्रता दिलाइन् । युगान्डा राष्ट्रिय टिमकी इक्वापुतले सरिता युम्नामको पासमा बललाई जाली चुमाइन् । एपिएफकी रक्षक मनमाया दमाईंले देब्रे भागमा १८ यार्ड बक्सनजिकबाट हेडर ‘क्लियर’ गर्न नसकेको बललाई फजिलाले नियन्त्रणमा लिँदै गोल गरिन् । उनले रक्षक गीता रानासँगै गोलकिपर अञ्जना रानामगरलाई बिट गरिन् । योसँगै इस्ट बंगाल प्रतियोगितामा एपिएफको ‘क्लिन सिट’ तोड्ने एक मात्र टोली बन्यो । इक्पापुतको प्रतियोगितामा यो आठौँ गोल हो ।
पहिलो गोलपछि एपिएफको हाफमा लगातार आक्रमण बुनेको इस्ट बंगालले ३५औँ मिनेटमा अग्रता दोब्बर बनायो । ३५औँ मिनेटमा सिल्कीदेवी हमामले अग्रता २–० को बनाइन् । आशालता देवीले राइटसाइडबाट गरेको क्रसलाई भारतीय अन्तर्राष्ट्रिय खेलाडी सिल्कीदेवी दर्शनीय टप कर्नर हेडर गोल गरिन् । दोस्रो हाफ सुरु भएको ४० सेकेन्डमै इक्वापुटले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रतियोगितामा उनको नवौँ गोल हो । रक्षक गीता रानालाई बिट गराउँदै उनले बक्सबाहिरबाट हानेको प्रहार सीधै गोल भएको थियो । गोलकिपर अञ्जना रानामगर सिल्ली गोल व्यहोर्न पुगिन् । उनले इक्वापुटको प्रहार हातमै आउँदा फुत्काएपछि गोल भएको थियो ।