दक्षिण एसियाली महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्तमा शनिबार नेपालको एपिएफ र भारतको इस्ट बंगालबिच प्रतिस्पर्धा हुँदै छ । उपाधि भिडन्तमा जसले जिते पनि इतिहास बनाउनेछ । साफ क्षेत्रमा महिला फुटबल विकासमा यो च्याम्पियनसिप महत्वपूर्ण मानिएको छ । पहिलो संस्करणमा एपिएफ, इस्ट बंगालसहित भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन सहभागी रहे ।
समूह चरणमा इस्ट बंगाल र एपिएफ अपराजित रहँदै एक खेलअगाडि नै फाइनलमा पुगेका थिए । समूह चरणको अन्तिम खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका थिए । एपिएफको तुलनामा इस्ट बंगाल बलियो टोली हो । भारतकै चर्चित तथा इतिहास बोकेको इस्ट बंगालले एपिएफसँगको अघिल्लो खेलमा रक्षात्मक रणनीति अपनाएको थियो । फाइनल प्रवेश गरिसकेका कारण इस्ट बंगालले जोखिम उठाउन चाहेन ।
अघिल्लो खेलमा दुवै टोलीले खेलाडीमाथि जोखिम उठाउन चाहेका थिएनन् । प्रमुख खेलाडीहरू घाइते हुने सम्भावना भएकाले समूह चरणमा एपिएफ र इस्ट बंगाल आक्रामक नभएका हुन् । गोलरहित बराबरी खेले पनि इस्ट बंगाललाई प्राप्त मौकामा दबाबमा राखेको थियो । इस्ट बंगालविरुद्ध एपिएफको फिनिसिङ कमजोर थियो । यद्यपि, एपिएफले समूह चरणमा इस्ट बंगालपछि दोस्रो सर्वाधिक गोल गरेको थियो ।
विपक्षी पोस्टमा घरेलु टोलीले गोल गरेको छ । उसले एक गोल पनि व्यहोरेको छैन । फिनिसिङमा इस्ट बंगाल राम्रो छ । समूह चरणमा इस्ट बंगालले १३ गोल गरेको थियो । दुवै क्लबसमक्ष समूह चरणको गल्ती सच्याउने अवसर थियो । तर, दशरथ रंगशालामा आज हुने फाइनलमा सच्याउने मौका पाउनेछैनन् । एउटा सामान्य गल्तीले पनि उपाधिविमुख हुनुपर्छ । फेरि दुवै क्लब अपराजित रहँदै उपाधि चुम्ने मनसायका साथ प्रतिस्पर्धा गर्ने योजनामा छन् ।
यस्तोमा एपिएफ र इस्ट बंगालले आक्रामक खेल खेल्न सक्छन् । भारतको लिग च्याम्पियन इस्ट बंगालले समूह चरणमा चार खेलबाट सर्वाधिक १० अंक जोडेको थियो । एपिएफले समान खेलबाट आठ अंक बटुल्दै दोस्रो स्थान रक्षा गरेको थियो । इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले फाइनलअघि टोली केही सुधार भएको बताएका छन् । ‘अघिल्लो खेलमा भएका गल्ती सच्याएका छौँ,’ उनले भने, ‘अघिल्लो खेलमा दुवै टोलीमध्ये कोही पनि हारका लागि हकदार थिएन ।’ प्रशिक्षक एन्थोनीले नेपालको एपिएफको प्रदर्शन अन्य टोलीभन्दा राम्रो भएको बताए । ‘घरेलु मैदानमा एपिएफको प्रदर्शन राम्रो छ ।’ एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फिनिसिङमा समस्या भएको बताए । ‘हाम्रो मुख्य समस्या नै गोल नहुनु हो,’ पाण्डेले भने, ‘दुई दिनको ग्यापमा सुधार गरेका छौँ ।’
एन्फालाई दुई हजार डलर जरिवाना
एसियन फुटबल महासंघ (एएफसी)ले एसिया कप छनोट तेस्रो चरणको मलेसियाविरुद्धको खेलमैदानमा ढिला प्रवेश गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दुई हजार डलर जरिवाना गरेको छ । गत नोभेम्बर १८ मा मलेसियामा भएको खेलमा नेपाल १–० ले पराजित भएको थियो । बुकिट जलिलको नेसनल रंगशालामा भएको प्रतिस्पर्धामा नेपालले निर्धारित समयभन्दा खेल सुरु हुनु एक मिनेट ३० सेकेन्ड ढिला गरी मैदानभित्र प्रवेश गरेको थियो ।
‘एन्फालाई एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन गरेकोमा दुई हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ,’ एएफसीले भनेको छ । नेपाली टोली पहिलो हाफको सुरुवातमा एक मिनेट २० सेकेन्ड र दोस्रो हाफमा एक मिनेट ३० सेकेन्ड मैदान छिर्न ढिलाइ गरेको कमिटीको ठहर छ । बैठकले ढिलाइ हुनुमा नेपाली अफिसियललाई दोषी देखाउँदै प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ अनुसार कारबाही गरेको हो ।
सो खेलमा मलेसियाले फैसल हमिमको निर्णायक गोलमा १० खेलाडीमा सीमित नेपालविरुद्ध १–० को जित निकालेको थियो । प्रतिस्पर्धामा नेपालका मिडफिल्डर लाकेन लिम्बूले रातो कार्ड पाएका थिए । मलेसियालाई पनि यही आरोपमा दुई हजार पाँच सय डलर जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचारसंहिता समितिको १५ डिसेम्बरमा बसेको बैठकले नेपाल र मलेसियालाई कारबाही गर्न सिफारिस गरेको हो । एएफसीका अनुसार यो जरिवाना एन्फाले ३० दिनभित्र तिर्नुपर्नेछ ।
यसअघि गत सेप्टेम्बरमा पनि एएफसीले एन्फामाथि १० हजार डलर जरिवाना तिराएको थियो । एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएपछि एएफसीले एन्फामाथि कारबाही गरेको थियो । त्यसवेला एएफसीको अनुशासन समितिले प्रतियोगिताको नियमअनुसार १०६ दिनअघि नाम फिर्ता लिनुपर्नेमा एन्फाले नियमअनुसार नगरेको भन्दै नेपाललाई कारबाही गरेको जनाएको थियो ।