बिग बासको एकै खेलमा ३६ छक्का र ३२ चौका

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

अस्ट्रेलियामा चलिरहेको बिग बास टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा कुल ३६ छक्का र ३२ चौका प्रहार भएका छन् । पर्थ स्कोर्चेर्स र ब्रिस्वान हर्टबिचको प्रतिस्पर्धामा छक्का र चौका बर्सिएका हुन् । बिग बास लिग टी–२० खेलमा कीर्तिमान बनेको दिन कुल पाँच सय १५ रन बनेको थियो । यसअघि सन् २०२० मा हर्ट र स्कोर्चेर्सबिच भएको खेलमा कुल तीन सय ९२ रनको योगफल खडा भएको थियो । 

यो रेकर्ड शुक्रबार भंग भएको छ । संयोगले अघिल्लो रेकर्ड बनाउने र नयाँ राख्ने टोलीहरू एकै रहे । पहिलो ब्याटिङ गरेको पर्थले २० ओभरमा ६ विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । प्रत्युत्तरमा हर्टले १९.५ ओभरमा दुई विकेटको क्षतिमा दुई सय ५८ रन जोड्दै रोमाञ्चक जित निकाल्यो । हर्टको सानदार जितमा ज्याक विल्डेमुथ र म्याट रेन्साउले शतकीय योगदान दिएका थिए । 

ज्याकले एक सय १० रन जोड्दा ५४ बलमा पाँच चौका र नौ छक्का प्रहार गरेका थिए । रनआउट हुनुअघि म्याटले ५१ बलमा पाँच चौका र नौ छक्काको सहयोगमा एक सय दुई रन जोडेका थिए । सो इनिङ्समा म्याक्स बायन्टले १६ बल खेलेर चार चौका प्रहार गरी २६ रन बनाए । हर्टको ब्याटिङ इनिङ्समा १४ चौका र १८ छक्का प्रहार भएको थियो । 

यसअघि ब्याटिङ गरेको पर्थका लागि फिन एलानले ३८ बलमा आठ छक्का र तीन चौकाको सहयोगमा ७९ रन जोडेका थिए । कुपर कोनोलीले ३७ बलमा समान ६ चौका र छक्का प्रहार गरी ७७ रन जोडे । आरोन हार्डियले दुई छक्का, कप्तान टर्नरले एक छक्का र निक होब्सनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । पर्थको ब्याटिङमा खेलाडीले १८ छक्का र १६ चौका प्रहार गरेका थिए । 

दोस्रो विकेटमा दुई सय १२ रन साझेदारी
हर्ट र र पर्थबिचको प्रतिस्पर्धामा दोस्रो विकेटका लागि नयाँ रेकर्ड बन्यो । लक्ष्य पछ्याएको इनिङ्समा हर्टले पहिलो बलमै विकेट गुमाएको थियो । ज्याक र म्याटले दोस्रो विकेटका लागि १५.४ ओभरमा दुई सय १२ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याए । उनीहरूबिचको साझेदारी दोस्रो विकेटनिम्ति नयाँ रेकर्ड बन्यो । यसअघि म्याक कुलम र क्रिस लिनले एक सय ४८ रनको रेकर्ड राखेका थिए । म्याट र ज्याकबिचको साझेदारी बिग बास लिगमा अहिलेसम्म कुनै पनि विकेटका लागि भएको अहिलेसम्मकै ठुलो योगदान हो । यसअघि म्याक ब्रायन्त र बेन कटिनबिच एक सय ५८ रनको साझेदारी रहेको थियो । 

See More On

सुझावित समाचार