रास्वपाको कमान्ड रविकै काँधमा : सभापतिको जिम्मेवारीमा चाँडै फर्किँदै

समानुपातिक उम्मेदवारका आकांक्षीको परीक्षा आजदेखि

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीको कार्यकारी नेतृत्व पुन: सम्हाल्ने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालका अनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि लामिछाने तत्काल पार्टीको मूल नेतृत्वमा फर्किनेछन् । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुनेछ,’ उनले भने । पुर्पक्षका लागि थुनामा परेपछि लामिछानेले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

रास्वपाले जारी गरेको विज्ञप्तिमा विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै लामिछानेमाथि लगाइएका मुद्दाहरूलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरिएको छ । ‘सभापति रवि लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र ती मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको शृंखला भएको स्पष्ट भइसकेको छ । अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको शृंखलालाई पूर्णविराम लगाउनेछ भन्ने विश्वास पार्टीले लिएको छ,’ विज्ञप्तिमा छ । रास्वपाले लामिछानेलाई थुनामुक्त गर्ने उच्चको आदेशप्रति सम्मान व्यक्त गरेको छ ।

समानुपातिक उम्मेदवारका आकांक्षीको परीक्षा आजदेखि
रास्वपाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छान्न शनिबारदेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । सहमहामन्त्री विपिन आचार्यका अनुसार मंसिर मसान्तसम्म ३२५ आवेदन प्राप्त भएका छन् । सातै प्रदेशमा आन्तरिक प्रतिस्पर्धा हुने भएकाले त्यसका आधारमा समानुपातिक उम्मेदवारको छनोट प्रक्रिया अघि बढाइने उम्मेदवार छनोट समिति संयोजकसमेत रहेका सहमहामन्त्री आचार्यले बताए । उनका अनुसार छलफलका लागि सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाइएको छ । 

रास्वपाले समानुपातिक उम्मेदवारीका लागि आवेदन दिने समय ५ पुससम्म थपेको छ । शुक्रबार रातिसम्म आवेदन दिने आवेदकसँग शनिबार नै छलफल गरिनेछ । थप समयमा आवेदन दिनेसँग पछि छलफल गरिने उनले बताए । ६ र ७ पुसमा उम्मेदवारका आकांक्षीसँग घरदैलो गरिने भएको छ । १० र ११ पुसमा मापनका अन्य आयाममा छलफल हुनेछ । यसक्रममा आवेदकले अर्काे आवेदकका लागि स्वस्फूर्त रूपमा फिर्ता लिन सक्नेछन् । त्यसपछि अन्तिम उम्मेदवारी नामावली प्रकाशन गरिने संयोजक आचार्यले बताए । 

सुझावित समाचार