त्रिवि दीक्षान्तमा यसपालि पनि विद्यार्थीले देखाएनन् रुचि

यस वर्ष त्रिविबाट ८९,१९९ विद्यार्थी उत्तीर्ण, दीक्षान्तका लागि फाराम भर्ने जम्मा १६ हजार ३८० मात्रै

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण
  • अभिभावकसहित करिब ५० हजार सहभागी हुँदै
  • यस वर्षको दीक्षान्त समारोहमा २७ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ

१० पुसमा आयोजना हुने त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहमा अभिभावकसहित करिब ५० हजारजनाको सहभागिता रहने भएको छ । त्यसमध्ये १६ हजार ३८० विद्यार्थी दीक्षित हुनेछन् भने बाँकी सहभागी अभिभावक रहनेछन् ।

नियमअनुसार फाराम भर्ने क्रममा एक विद्यार्थीले अधिकतम दुईजना अभिभावक ल्याउन पाउने व्यवस्था छ । फारामको संख्याका आधारमा करिब ५० हजार सहभागी हुने अनुमान गरिएको त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले बताए । उनका अनुसार यस वर्ष स्नातकदेखि विद्यावारिधि (पिएचडी)सम्मका तहका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुँदै छन् ।

यस वर्ष त्रिविबाट कुल ८९ हजार १९९ विद्यार्थी उत्तीर्ण भए पनि दीक्षान्तका लागि फाराम भर्ने संख्या तुलनात्मक रूपमा कम देखिएको छ । उपकुलपति अर्यालका अनुसार काठमाडौंमै मात्रै दीक्षान्त समारोह आयोजना हुने र धेरै विद्यार्थीका लागि स्थान तथा खर्च पायक नपर्ने भएकाले फाराम भर्ने संख्या कम भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष सहभागी संख्या केही बढ्ने अनुमान गरिएको छ । ‘गत वर्ष पनि फाराम भर्ने विद्यार्थीको संख्या झन्डै यति नै थियो । तर, यसपटक अभिभावकका लागि धेरैले फाराम भरेकाले सहभागी संख्या बढ्न सक्छ,’ उनले भने । 

उनका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल, पिएचडी तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी हुँदै छन् । दीक्षित हुनका लागि सबैभन्दा बढी स्नातक तहका विद्यार्थीले फाराम भरेका छन् । 

यस वर्षको दीक्षान्त समारोहमा २७ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ । हरेक संकाय तथा विभागबाट गोल्ड मेडलिस्ट विद्यार्थीलाई पदक प्रदान गरिने त्रिविले जनाएको छ । रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सहभागी संख्या धेरै भए पनि प्रमाणपत्र वितरणलाई व्यवस्थित बनाइने बताए । 

‘अभिभावक ल्याउने विवरण फाराममै उल्लेख हुन्छ । तर, कतिपय अवस्थामा फाराम नभरी पनि अभिभावक आउने हुँदा संख्या बढ्ने गरेको छ,’ उनले भने, ‘यसपटक प्रमाणपत्र वितरण व्यवस्थित बनाउने र तहअनुसार विद्यार्थीका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको छ ।’

यस वर्षको दीक्षान्त समारोहमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन् । त्रिविको दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता सहभागी हुन लागेको यो पहिलोपटक हो ।

त्रिविले हरेक वर्ष त्रिपुरेश्वरमा रहेको दशरथ रंगशणलामा नै दीक्षान्त समारोह गर्दै आइरहेको छ । त्रिविले यसपटक कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा दीक्षान्त समारोह गर्ने योजना बनाएको थियो । तर, स्थान साँघुरो हुने भएपछि सो योजना कार्यान्वयन हुन सकेन । त्रिविले सर्टिफिकेट वितरण व्यवस्थित रूपमा नगर्दा हरेक वर्ष विद्यार्थीले दु:ख पाउने गरेका छन् । 

काठमाडौंमै मात्रै दीक्षान्त समारोह आयोजना गर्दा अत्यधिक भिड हुने र धेरै विद्यार्थी सहभागी हुन नसक्ने अवस्थालाई ध्यानमा राख्दै आगामी वर्षदेखि पोखरा र विराटनगरमा पनि दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरिएको उपकुलपति अर्यालले बताए । तीन स्थानमा दीक्षान्त समारोह गर्दा व्यवस्थापन सहज हुने र सहभागी संख्या पनि बढ्ने उनको भनाइ छ । 
 

सुझावित समाचार