चाँदबाग स्कुलले स्थापना दिवस तथा अभिभावक भेला मनाएको छ। शुक्रबार प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीले आ–आफ्नो प्रस्तुति देखाए। कक्षा एकदेखि १२ सम्म अध्ययनरत विद्यार्थीले कार्यक्रममा सहभागी अभिभावक र अतिथिहरूलाई विभिन्न कला, साहित्य तथा सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिए।
2025-12-19-04-53-55.jpeg)
विद्यालयले यसपटक कार्यक्रममा दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलका रेक्टर फादर स्ट्यान्डली भर्गिजलाई आमन्त्रित स्पिकरको रूपमा बोलाएको थियो। भर्गिजले विद्यार्थीलाई सिकाइबारे टेक्निक दिनुका साथै शैक्षिक क्रियाकलापमा कसरी सफल हुने भन्नेबारेमा आफ्नो मन्तव्य राखे। उनले शैक्षिक संरचना र सिकाइको तालमेलले मात्रै सिकाइमा गुणस्तर ल्याउने बताए।
2025-12-19-04-53-47.jpeg)
सिजी एजुकेसनका अध्यक्ष डा. विनोदकुमार चौधरीले नेपालका शैक्षिक कार्यक्रममा अझै सरकारी अवरोध भएको भन्दै अन्य देशमा यस्तो नभएको बताए। ‘अन्य देशका शैक्षिक संस्थाहरू सारा विश्वभरि फैलिन थालिसके, उनीहरू जहाँ पनि पुगिसके, एक–अर्कामा समन्वय गरेर शैक्षिक कार्यक्रम गर्न चाहन्छन्, त्यहाँको ठुलो मासले गुणस्तरीय शिक्षाको लाभ लिइरहेको हुन्छ, तर हाम्रा मन्त्रालयका ढोकाहरू त्यो काममा पूरै बन्द छन्,’ उनले भने।
2025-12-19-04-53-37.jpeg)
उनले आफू अत्यन्तै साधारण परिवारबाट हुर्किएको र साधारण किसिमको शैक्षिक संस्थाबाट शिक्षा हासिल गरेको सम्झँदै अहिलेको पुस्ताले राम्रो शिक्षा पाइरहेको बताए। उनले स्कुलको ब्यानर कति ठुलो छ भन्दा पनि शिक्षा दिने काममा विद्यालय कति जिम्मेवार छ भन्ने कुरा महत्त्वपूर्ण रहेको प्रस्ट पारे।
2025-12-19-04-53-28.jpeg)
‘कुन विद्यार्थीले के गर्न वा के बन्न चाहन्छ, उसलाई उत्कृष्टताको बाटोमा पुर्याउन हामीले कुन बाटो डोर्याइरहेका छौँ, यसमा स्कुलको व्यवस्थापन र अभिभावककाे उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘शैक्षिक संस्थासँग जोडिएका सम्पूर्ण शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ।’
2025-12-19-04-53-21.jpeg)
काठमाडौंको नारायणटारमा रहेको यस स्कुलमा कक्षा एकदेखि १२ सम्मको पढाइ हुन्छ। विद्यालय सिकाइ क्रियाकलापमा अग्रणी मानिने यस विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले विद्यार्थीलाई बाहिरी वातावरणसँग घुलमिल गराउन, व्यावहारिक ज्ञान हासिल गराउन र सिकाइलाई परिणाममुखी बनाउन यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ।
तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका