डिभी कार्यक्रम बन्द गर्ने अमेरिकाको घोषणा

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

अमेरिकाले डिभी कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोयमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार ‘युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस’लाई डिभी कार्यक्रम रोक्न निर्देशन दिएको सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएकी छिन्।

ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा डिभी कार्यक्रममार्फत भित्रिएका आप्रवासीले गोली चलाएको पुष्टि भएपछि अमेरिकी प्रशासन सो कार्यक्रम अस्थायी रूपमा रोक लगाउने निष्कर्षमा पुगेको हो। ‘राष्ट्रपति ट्रम्पको निर्देशनमा म अहिले तुरुन्तै युएससिआइएसलाई डिभी कार्यक्रम रोक्न निर्देशन दिन्छु, ता कि यस विनाशकारी कार्यक्रमले थप अमेरिकीलाई क्षति पुर्याउन नदिओस्,’ उनले एक्समार्फत भनेकी छिन्।

उनको निर्देशनलगत्तै अस्थायी रूपमा डिभी कार्यक्रम रोकिएको अमेरिकी सञ्चारमाध्यम सिबिएस न्युजले पुष्टि गरेको छ। गोली चलाउने क्लाउडियो म्यानुअल नेभेस भालेन्टेले सन् २०१७ मा डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रिन कार्डसमेत पाइसकेका थिए।

अमेरिकाले बर्सेनि विश्वभरबाट डिभी कार्यक्रममार्फत करिब ५० हजार आप्रवासीलाई देश प्रवेश गर्ने अनुमति दिँदै आएको छ। यो वर्ष डिभी कार्यक्रम खोल्न ढिलाइ भइरहेका वेला अमेरिकी प्रशासनले अस्थायी रूपमा बन्द भएको घोषणा गरेको हो।

सुझावित समाचार