प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा ससर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्।
रविलाई धरौटीमा रिहा गर्न दिएको आदेश मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारीपीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको उनको भनाइ छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन्, ‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबिच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारीपीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ।’ रविबारे आफूले गत वर्षदेखि पटक-पटक उठाउँदै आएको कुरा अदालतबाट भएको बताए।
उनले थपेका छन्, ‘हेरौँ, मैले गत वर्ष पोखराको प्रहरी हिरासतमा रविजीलाई भेटेर निस्केपछि मिडियासमक्ष व्यक्त गरेको विचार, लोकतन्त्रको सौन्दर्य यही हो। सबैले आत्मसात् गरौँ। तथ्यबाट सत्य खोजौँ। कुनै उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलागौँ।’