नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनपछि नेता विष्णु रिमालले नेतृत्व चयनको नतिजालाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक उपज भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवार बनेका रिमाल दुवै पदमा निर्वाचित हुन सकेनन् ।
पराजयपछि सार्वजनिक अभिव्यक्ति दिँदै रिमालले महाधिवेशनलाई गरिमामय, उत्साहपूर्ण र पार्टीका लागि सामूहिक उपलब्धिको रूपमा चित्रित गरेका छन् । पद नपाए पनि पार्टीभित्रको प्रतिस्पर्धालाई उनले सकारात्मक र आवश्यक अभ्यासको रूपमा व्याख्या गरेका छन् ।
जनताको बहुदलीय जनवाद (जबज) को सन्दर्भ जोड्दै उनले प्रतिस्पर्धाबाट नेतृत्वको वैधता स्थापित हुने स्पष्ट पारे । ‘पहल, प्रतिस्पर्धा र श्रेष्ठताको प्रमाणमार्फत जनविश्वास जित्नु नै जबजको सार हो,’ रिमालको भनाइ छ ।
निर्वाचन परिणामलाई आत्मविश्वास र राजनीतिक संयमताका साथ स्वीकार गरेको उल्लेख गर्दै उनले औपचारिक जिम्मेवारी फेरिए पनि पार्टीप्रतिको प्रतिबद्धता कमजोर नहुने बताए । पार्टी निर्माणको यात्रामा आफू सक्रिय रहिरहने उनको स्पष्ट संकेत छ ।
शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै रिमालले आगामी दिनमा पनि एउटै लक्ष्य पार्टी बलियो बनाउने अभियान समर्पित रहने बताएका छन् ।