१५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) सुरु भएको छ । पहिलो दिन बिहीबार बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो भएको छ । आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ६ स्वर्ण पदक जित्योे ।
१५ देखि १७ वर्ष तौल समूहअन्तर्गत पुरुषतर्फ अनिल तामाङ र महिलातर्फ सलिना कार्की पहिलो भए । यी दुवै नेप्लिज तेक्वान्दोका हुन् । यसैगरी नेप्लिज तेक्वान्दोका अन्य खेलाडीमा नारायणलाल कर्णले ५० वर्षमाथि कलर पहिलो भए ।
रितन श्रेष्ठले १२–१४ वर्ष कलरमा पहिलो स्थान हात पारे । मिङमा तामाङले १२–१४ वर्ष पहेँलो बेल्ट र सुप्रिम पुडासैनीले १२–१४ वर्ष ब्ल्याक बेल्टमा स्वर्ण पदक जिते । अमेरिकाकी निभा महर्जन आठ वर्षमुनि रेडमा च्याम्पियन बनिन् ।
च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका एक हजार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा चलिरहेको च्याम्पियनसिप ५ पुससम्म हुने प्रतियोगिताका निर्देशक दिवाकर महर्जनले बताए ।
प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायत खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र १३० कांस्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सन् २००० मा सुरु भएको फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा पूरा गरिसकेको छ ।