राजनीतिक विश्लेषक श्याम श्रेष्ठलाई ३ प्रश्न

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

ठुला दल संसद् पुनर्स्थापनाको पक्षमा उभिनुले के सन्देश दिन्छ ?
ठुला दल चुनावका लागि तयार नै छैनन् । उनीहरूमा दोधारे मानसिकता देखिन्छ । एमाले र कांग्रेसले एकातिर निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता पनि गराएका छन् भने अर्कातिर सर्वोच्च अदालतमा रिट पनि हालेका छन् । उनीहरूमा अहिलेको अवस्थामा निर्वाचनमा जाँदा जनताले नपत्याउलान् र हारिएला भन्ने ठुलो त्रास छ । यस्तो अवस्थामा बरु संसद् पुनर्स्थापना भइदिए थप दुई वर्षसम्म सत्तामा बसेर त्यसपछि निर्वाचनमा जाँदा सहज हुन्छ भन्ने उनीहरूको भित्री सोचको उपज हो यो दौडधुप । 

दलहरू ताजा जनादेश लिनबाट यसरी किन डराएका होलान् ?
यिनले विगतमा लोकप्रिय काम केही गरेका छैनन् । जनताका पक्षमा राम्रा निर्णय गरेका छैनन् । सत्तामा पुग्दा भ्रष्टाचारसिवाय केही गरेका छैनन् । उनीहरूमा भर्खरैको जेन–जी आन्दोलनको त्रास पनि छ । जनताप्रति विश्वास छैन । त्यसले गर्दा उनीहरू ताजा जनादेश लिनबाट डराइरहेका हुन् । अहिले पुनर्स्थापना गराउन सकिए दुई वर्षसम्म केही काम गरेजस्तो देखाएर निर्वाचनमा जाँदा सहज हुन्छ भन्ने उनीहरूको विश्वास छ । तर, कथं पुनर्स्थापना भइहालेमा पनि अर्को आन्दोलन हुन सक्छ । यस्तोमा उनीहरूले त्यो आन्दोलन थेग्न सक्लान् या नसक्लान्, त्यो बेग्लै विषय हो । 

दलहरूका यस्ता गतिविधिले २१ फागुनको निर्वाचन बिथोलिने सम्भावना कति देख्नुहुन्छ ?
अदालतले कस्तो फैसला दिन्छ, निर्वाचनको भविष्य त्यसैमा निर्भर हुन्छ । दलहरूको मागविपरीत फैसला आएमा उनीहरू निर्वाचनमा जान बाध्य हुन्छन् । तर, अदालतमा दलका न्यायाधीश छन् । सबै दललाई आआफ्ना न्यायाधीशले आफ्नै पक्षमा फैसला दिने आशा हुन सक्छ । अहिले नै २१ फागुनको निर्वाचन बिथोलिने बाटोतिर गइसकेको छैन । जनता निर्वाचनका पक्षमा गइसकेको हुनाले यो त्यति सजिलै बिथोलिन सम्भव पनि छैन । 

सुझावित समाचार