उत्कृष्ट काम गर्ने पाँच जना सशस्त्र प्रहरी कर्मचारी यूएन शान्ति मिसनमा छनौट भएका छन्। विपद् व्यवस्थापन तथा खेलकुदमा उत्कृष्ट भएकालाई सो अवसर दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
शस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिई उद्धार गर्ने सशस्त्र प्रहरी कर्मचारी, २०८१ सालमा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत सो अवसर दिइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी मनिष थापाले बताए।
यसरी मिसनमा छनोट हुनेहरुमा सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्ट, सहायक हवल्दार भरत काफ्ले, सहायक हवल्दार मेख बहादुर गुरुङ, हायक हवल्दार किरण बहादुर भण्डारी र प्रहरी परिचर पुरन राई छन्।
सहभागी हुनेहरुमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटक सम्म खटिई १० जनाको सकुशल उद्धार गर्नुकासाथै ११ वटा शव निकालेका थिए भने २ जना पर्यटकको समेत जिवितै उद्धार गर्न सफल भएका थिए । यस्तै, सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जना मध्ये ५ जनाको रोप रेस्क्यु विधिद्धारा सकुशल उद्धार गर्नुकासाथै विभिन्न घटनामा २० पटक खटिई १५ जनाको शव निकालेका थिए ।
सशस्त्र प्रहरी सहायक हवल्दार मेख बहादुर गुरुङ्गले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरुमा उत्कृष्ट प्रशिक्षकको रुपमा समेत निरन्तर खटिदै आएको तथा विभिन्न घटना तथा दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुकोसाथै विदेशी नागरिकको उद्धारमा समेत खटिएका थिए । आपत् विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल भई सशस्त्र प्रहरी सहायक हवल्दार किरण बहादुर भण्डारी गतवर्षको उत्कृष्ट ‘वर्ष जवान–२०८१’ घोषित भएका थिए । उनलाई पनि संगठनको नीति अनुसार मिशनको अवसर दिईएको डिआइजी थापाले बताए।
त्यसैगरी सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लवका आवद्ध रहि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ्ग विधामा उत्कृष्ट खेल प्रदर्शन गरी ८ स्वर्ण, ३ रजत र १ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए। छनोटलाई पादरर्शी बनाई उत्कृष्ट काम गर्नेहरुलाई शान्ति मिसनको अवसर दिने अभ्यास थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ।