ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा सडक निर्माणका क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिएको छ। तेल्लोकदेखि फुन्द्रवासम्म जोड्ने सडक खन्ने काम भइरहेको बेला फुन्द्रवा भिरबाट खसेको सुक्खा पहिरोले एक्स्काभेटर पुरेको हो।
घटना बिहीबार बिहान ११ बजेतिरको भएको गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिए। उनका अनुसार सडक विस्तारका लागि भिर काट्ने क्रममा माथिबाट एक्कासि पहिरो झर्दा एक्स्काभेटर पुरिएको हो। एक्स्काभेटरचालक समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति भने हुन पाएन।
स्थानीयका अनुसार उक्त सडक तीन दिनअघिदेखि मात्र निर्माण सुरु गरिएको थियो। तेल्लोक–फुन्द्रवा सडक गाउँपालिकाको प्राथमिकतामा परेको आयोजना हो। जसका लागि करिब एक करोड ५० लाखबराबरको लगानी गरिएको गाउँपालिकाले जनाएको छ।
दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले काम अघि बढाइए पनि भिरालो भू–बनोट र चिसो मौसमका कारण जोखिम बढेको स्थानीयको भनाइ छ। घटनापछि केही समय सडक निर्माणको काम प्रभावित भएको छ। पहिरो हटाउने र एक्स्काभेटर निकाल्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।