कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेसनमा खिचिने जानकारी निर्माण टिमले दिएको हो ।
गुरुङ सिनेमाका ‘गडफादर’का रूपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनील थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायतका कलाकारको अभिनय रहनेछ । यो सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथाजस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् ।
माओत्से गुरुङ फिल्मसकाे ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन्। सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् । यो सिनेमाको संगीत झुमा लिम्बू, मनोज थापामगर र शिव बराइलीले तयार पार्नेछन्।
निर्देशक माओत्से गुरुङको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’ बक्सअफिसमा हिट भएको थियो। चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि सक्रिय हुन थालेका छन्। उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन्।