महाधिवेशनमा मतदान गर्न ६ घण्टासम्म लाइन, एमालेले आज नयाँ नेतृत्व पाउँदै

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण
महाधिवेशनमा मतदान गर्न ६ घण्टासम्म लाइन, एमालेले आज नयाँ नेतृत्व पाउँदै

विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्दै एमाले अध्यक्ष केपी ओली, ईश्वर पोखरेल र शंकर पोखरेल ।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिङ प्रयोग गरिए पनि अनपेक्षित ढिलाइ देखिएको छ । महाधिवशेनमा दुई हजार २६३ जना प्रतिनिधि मतदाता रहेको भए पनि घण्टामा सयहाराहारीले मात्र मतदान गरेका छन् । मतदानका लागि ८० मेसिङ छन् । 

बुधबार बिहान ९:१२ बाट सुरु भएको मतदानमा राति ११ बजेसम्म करिब एक हजार तीन सय ५० मत खसेको छ । यतिसम्म ढिला मतदान भएको थियो कि प्रतिनिधिले ६ घण्टासम्म लाइन बसेर मतदान गरेका थिए । बिहीबार परिणाम सार्वजनिक गर्ने गरी चिसोको मौसममा रातभर मतदान गराइएको छ । 

भृकुटीमण्डपमा बुधबार दिनभर र रातभर भएको मतदानमा प्रतिनिधिले सास्ती व्यहोरेका छन् । यद्यपि, मध्यरातसम्मकै रफ्तारमा मतदान अघि बढ्दा बिहीबार बिहान १०–११ बजेआसपास परिणाम सार्वजनिक हुने पार्टीको निर्वाचन आयोगका पदाधिकारीको विश्वास छ । बुधबार राति १० बजेभित्रै मतदान सकेर परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका थियो । तर, करिब सात सय उम्मेदवारबाट तोकिएका सीमित उम्मेदवार छनोट गरेर मतदान गर्नुपर्ने मतदाताको बाध्यताले प्रक्रिया लम्बिएको हो । सुरुमा एमालेले २७–२९ मंसिरमा महाधिवेशन सक्ने गरी काम थालेको थियो । 

आयोगका अनुसार ८० वटा इभोटिङ मेसिनमा भइरहेको मतदानमा एक घण्टामा औसतमा सयभन्दा केही बढी संख्याले मात्र मतदान गरेका छन् । पार्टीको निर्वाचन आयोगले नै बिहीबार बिहान ७ बजेआसपास मात्र मतदान सकिने अनुमान गरेको छ । आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले एक घण्टामा सयभन्दा केही माथि संख्याले मात्र मतदान गरेकाले बिहीबार बिहान मात्र मतदान सकिने र त्यसको तीन घण्टाभित्र परिणाम सार्वजनिक हुने बताए । 

अध्यक्षका प्रतिस्पर्धी ओली र पोखरेलले एक घण्टा चार मिनेट लगाएर मतदान गरेका थिए । त्यसपछि लगातार सुरु भएको दिनभरको मतदानमा प्रतिनिधिहरू कम्तीमा पाँचदेखि ६ घण्टासम्म लाइनमा बसेर मतदान गरेका छन् । मतदान ढिलाइमा धेरै उम्मेदवार र सकेसम्म केन्द्रीय सदस्यमा पनि तोकिएकै व्यक्तिलाई मत जाओस् भनेर समय लिनुलाई कारण मानिएको छ । ६ सयभन्दा बढी उम्मेदवारबाट पदाधिकारी, केन्द्रीय सदस्य र दुई आयोगका सदस्यसहित ३५१ जनासम्म निर्वाचित गर्नुपर्ने भएका कारण पनि व्यक्ति छनोटमै समय लाग्ने गरेको लाइनमा रहेका प्रतिनिधिको अनुभव छ ।

पोलिटब्युरो सदस्यसमेत रहेका प्रतिनिधि कमल चौलागाईंले बिहान पौने ८ देखि दिउँसो सवा २ बजेसम्म लाइन बसेर मतदान गरेको अनुभव सुनाए । ‘पौने ८ बजेबाट लाइन बसेको थिएँ । मतदान गर्न ४० मिनेटसहित ६ घण्टा लाइनमा बसेर सवा २ बजे मात्र मतदान गरेर फर्किएँ,’ चौंलागाईंले अनुभव सुनाए, ‘६ सयभन्दा धेरै उम्मेदवार छन् । तीबाट पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य र दुई आयोगका २५–२५ गरेर ३५१ जना छनोट गरेर मतदान गर्नुपर्दा धेरै समय लाग्यो ।’ धेरै लामो सूचीका कारण झुक्किन सक्ने भएकाले पनि धैर्यसहित मत हाल्नुपरेको उनको भनाइ छ । 

दिनभर प्रतिनिधिले सास्ती व्यर्होन बाध्य भएपछि भने निर्वाचन आयोगले पार्टी नेतृत्वसँग समेत सल्लाह गरेर सहजताका लागि साँझबाट कुपन बाँडेको थियो । कुपन बाँडेपछि सिरियल नम्बरका आधारमा लाइन नराखी ८० जनालाई मात्र पठाएर आयोगले मतदान प्रक्रिया सहज बनाएको थियो । 

त्यसपछि मतदाताले धेरै सहजता महसुस गरेको केन्द्रीय सदस्यकी उम्मेदवारसमेत रहेकी सीताकुमारी खत्रीले बताइन् । ‘साँझबाट कुपन लागू गरेपछि लाइनमा बस्नुपरेन । धेरै सहज महसुस गरेँ । चिया खाने, कुर्चीमा बस्ने, गफगाफ गर्ने, भोट माग्ने, खाना–खाजा खाने पर्याप्त समय पाएँ । दिनभरजस्तो लाइन पनि बस्नुपरेन । मलाई भोट माग्न पनि धेरै सहज भयो,’ उनले भनिन् ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । ओली टिमबाट शंकर पोखरेल र पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गरिरहेका छन् । अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५–२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा निर्वाचन भएको छ । दुई आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव भने सर्वसम्मत निर्वाचित भइसकेका छन् । 

को–को भए निर्विरोध निर्वाचित ?
एमाले ११औँ महाधिवेशनबाट ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्वाचित भएका छन् । मधेशी क्लस्टरको युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भए । समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्दिकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सीता लामा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, पिछडिएको क्षेत्र महिलातर्फ बदमीक्वारी बुढा, प्रवास (दक्षिण एसिया)तर्फ हरिप्रसाद घिमिरे, ४० वर्षमुनिको केन्द्रीय सदस्य युवातर्फ नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

बालुवाटार निवासबाटै विद्याको सक्रियता 
आफ्नो सदस्यता नवीकरण नभएपछि प्रत्यक्ष मैदानमा उत्रिन नपाएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको ११औँ महाधिवेशनमा इतर समूहको टिम बनाउन पर्र्दापछाडिबाट सक्रिय भूमिका निभाएकी छिन् । नेताहरूका अनुसार अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको टिम निर्माणमा भण्डारीले पूर्णत: समन्वयात्मक भूमिका निर्वाह गरिन् । 

पार्टी राजनीतिमा फर्किने योजनामा रहेकी भण्डारीको सदस्यता नवीकरणले मान्यता नपाएपछि उनी अध्यक्ष केपी ओलीसँग असन्तुष्ट देखिइन् । यही पृष्ठभूमिमा उनले प्रत्यक्ष अग्रमोर्चामा नआएरै पोखरेल समूहसँग निरन्तर संवाद र परामर्शमार्फत टिम निर्माणलाई सहजीकरण गरेकी हुन् । 

सार्वजनिक रूपमा समूहको अगुवाइ ईश्वरले गरे पनि संगठनभित्रको सन्तुलन, समावेशिता र पुस्तान्तरणलाई ध्यानमा राखेर टिमलाई आकार दिन भण्डारीको परामर्श निर्णायक बनेको नेताहरू बताउँछन् । भण्डारी आफ्नो सदस्यता नवीकरण ओलीले रोकेको बुझाइमा छिन् । विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पनि उनले ओलीसँगको असन्तुष्टि पोख्ने गरेकी छिन् । 

११औँ राष्ट्रिय महाधिवेशन तयारीका क्रममा उनी पार्टी कार्यालय च्यासल गइनन् । उनलाई महाधिवेशन उद्घाटनमा एमालेले अतिथिकै रूपमा पनि निम्तो गरेको थिएन । बालुवाटारस्थित पुत्री उषाकिरणको निवासबाटै उनले महाधिवेशनमाथि नजर राखिन् । र, पोखरेलको टिम निर्माणमा सक्रिय भूमिका खेलिन् । तर, निकट नेताहरूले उनको भूमिकाबारे प्रतिक्रिया दिन चाहेनन् । केन्द्रीय कमिटी बैठकबाटै सदस्यता नवीकरणले मान्यता नपाएपछि एमालेमा फर्किएर पार्टीको नेतृत्व लिने भण्डारीको योजनामा ‘ब्रेक’ लागेको थियो

उद्घाटनको बिहानै प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भण्डारीले महाधिवेशन सफलताको शुभकामना दिएकी थिइन् । त्यसक्रममा उनले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई सुदृढ गर्न ध्यानाकर्षण गरेकी थिइन् । ‘तपाईं महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेतासमेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ,’ भण्डारीले शुभकामना सन्देशमा भनेकी थिइन्, ‘यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएकी छु ।’

त्यस्तै, उनले उपलब्धि रक्षामा जोड दिएकी थिइन् । ‘मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना !’ उनले भनेकी थिइन् । त्यसो त, प्रतिनिधि छनोटको सँघारमा समेत उनले पार्टीपंक्तिलाई सम्बोधन गर्दै अपिल जारी गरेकी थिइन् । 

सुझावित समाचार