नेपालले पहिलोपटक हात्ती उपहार दियो, जोडी हात्ती कतार उडे

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

नेपालले उपहार दिएका जोडी हात्ती ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ बुधबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडेका छन्। नेपालले गैंडासहितका अन्य वन्यजन्तु र चराचुरुङ्गी उपहार दिँदै आए पनि हात्ती पहिलोपटक दिएको हो।

चितवन राष्ट्रिय निकुञ्जको खोरसारस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मी हुर्केका यी हात्तीलाई अलखोर चिडियाखाना पठाइएको हो। हात्तीको विदाइ गर्न सचिव डा. राजेन्द्र प्रसाद मिश्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. वुद्धिसागर पौडेल तथा परराष्ट्र मन्त्रालय, नेपाली सेना, नेपालस्थित कतारको राजदूतावासका प्रतिनिधि, रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहितको टोली विमानस्थल पुगेको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं नेपालको प्रचलित कानून बमोजिमको साइटिस प्रमाणपत्र, स्वास्थ्य सम्बन्धी प्रमाणपत्र जारी गर्ने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर कतार एयरवेजको विशेष कार्गो विमानबाट हात्ती कतारको राजधानी दोहा पठाइएको हो।

‘नेपाली जनताको सद्भावको प्रतीकको रुपमा एक जोडी हात्ती कतार सरकारलाई उपहार प्रदान गरिएको छ। यी हात्ती अलखोर पार्कको चिडीयाखानामा रहनेछन्,’ विभागले विज्ञप्तिमार्फत् जनाएको छ, ‘नेपालको तर्फबाट एक प्राविधिक टोलीले अलखोर पार्कमा हात्ती राखे स्थल र अन्य व्यवस्थापकीय पक्षको अध्ययन गरी प्राप्त प्रतिवेदन एवं नेपाल पक्षराष्ट्र रहेका सम्बन्धित अन्तर्राष्ट्रिय अभिसन्धि र राष्ट्रिय कानूनहरूको परिधीभित्र रही हात्ती हस्तान्तरण गरिएको छ।’ हात्तीसँगै एकजना पशु प्राविधिक र दुईजना माहुते पनि दोहा गएका छन्। उनीहरूले एक महिनासम्म हात्तीको खानपान तथा स्याहारसुसारको विषयमा अलखोर चिडियाखानामा रही काम गर्नेछन्।

०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले दुई हात्ती उपहारस्वरूप दिने घोषणा गरिएको थियो। ०८१ मा कतारका अमिर हिज हाइनेस शेख तामिम वीन हमाद बीन खलिफा अलथानीले नेपालको राजकीय भ्रमण गरेका थिए। सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको तर्फबाट कतारका हिज हाइनेस अमिर र कतारी जनतालाई उपहारस्वरूप एक जोडी हात्ती प्रदान गरेको घोषणा गरेका थिए।  घोषणा कार्यान्वयनका क्रममा मन्त्रिपरिषद्को २ कात्तिक ०८१ को निर्णय अनुसार नेपाली जनताको सद्भावको प्रतीकको रुपमा एक जोडी हात्ती कतार सरकारलाई उपहार प्रदान गरिएको विभागले जनाएको छ।

सुझावित समाचार