प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै विभागले नै लुकाइछिपाइ राखेका हतियार खोजतलास गर्न परिपत्र गरेपश्चात खोजतलास गर्दा एक महिनामा ३३ भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । बुधबार जिल्ला प्रहरी कार्यालय सल्यानले पत्रकार सम्मेलन गरी बनगाड कुपिण्डे नगरपालिकाबाट १५ थान, त्रिवेणी गाउँपालिकाबाट १० थान र अन्य पालिकाबाट आठ गरी ३३ थान भरुवा बन्दुक बरामद गरिएको उनले बताए ।
गोप्य सूचनाका आधारमा ती हतियार बरामद गर्न सफल भएको उनको भनाइ छ । फेला परेका बन्दुक खोजतलास गर्ने क्रममा केहीले बस्न छाडेका पुराना घर, ओराल, जंगलमा लुकाईछिपाइ राखेको अवस्थामा फेला परेका छन् । अधिकांस हतियार जंगली जनावर शिकार गर्न प्रयोग गर्ने गरेको पाइएको भट्टराईको भनाइ छ । एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरी अदालतले धरौटीमा छोडी सकेको उनले बताए ।
आगामी निर्वाचनलाई लक्षित गर्दै यस्ता अवैध हातहतियारको खोजीलाई तिव्रता दिएको र बरामद हतियार प्रदेश कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।