काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा शैक्षिक सत्र ०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन्। महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५ जनालाई, दलित छात्रवृत्तिमा एक हजार ३२२ जनालाई, अपांग र आवासीय छात्रवृत्तिमा ४५५ जनालाई यो अवसर प्राप्त भएको हो । यस्तै, संस्थागत विद्यालयहरूमा कक्षा एकदेखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा तीन हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरूका विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो ।
यस वर्ष ३९ वटा विद्यालयहरूले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरे । कक्षा एकदेखि १२ सम्मका ५६ हजार ३०१ जनाले निःशुल्क पाठ्यपुस्तक प्राप्त गरे । ५८ हजार ७३९ जना विद्यार्थीले नियमित दिवाखाजा प्राप्त गरे । सेनिटरी प्याड प्रयोग गर्नुपर्ने उमेर समूहका १७ हजार ६८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरेकाे जनाइएकाे छ ।
शिक्षातर्फ यस वर्षका लागि तीन अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात् एक अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएकाे जनाइएकाे छ ।
यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा एक अर्ब चार करोड ८५ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख पाँच हजार रुपैयाँ खर्च भएकाे छ । गरिखाने शिक्षा महानगरको इच्छा कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा पाँच करोड एक लाख ६६ रुपैयाँ अर्थात् ८.४ प्रतिशत खर्च भएकाे छ भने शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा चार करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएकाे महानगरकाे भनाइ छ ।संघीय ससर्त अनुदानबाट एक अर्ब ४२ करोड ३४ लाख ५० हजार रुपैयाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात् एक अर्ब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएकाे छ ।