- १९औँ संस्करणको आइपिएल मंगलबार भएको अक्सनमा कोलकाता नाइट राइडर्सले क्यामरन ग्रिनलाई २५ करोड २० लाख भारुमा अनुबन्ध गरेको छ । गत सिजन कोलकाताले मिचेल स्टार्कलाई २४ करोड ५० लाख भारु खर्चिएको थियो ।
अस्ट्रेलियाका क्यामरन ग्रिन इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । १९औँ संस्करण आइपिएलको मंगलबार दुबईमा भएको अक्सनमा कोलकाता नाइट राइडर्सले ग्रिनलाई २५ करोड २० लाख भारुमा अनुबन्ध गरेको हो । गत सिजन अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क आइपिएलकै सबैभन्दा महँगा खेलाडी बन्दा कोलकाताले २४ करोड ५० लाख भारु खर्चिएको थियो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को नयाँ नियमअनुसार विदेशी खेलाडीले अधिकतम १८ करोड मात्र पारिश्रमिक पाउनेछन् ।
अक्सनमा कुनै टोलीले १८ करोड भारुभन्दा बढी बोली लगाए पनि त्यो अतिरिक्त रकम खेलाडीलाई दिइने छैन । सो अतिरिक्त रकम बिसीसीआईले खेलाडी कल्याण कोषका लागि प्रयोग गर्नेछ । यही नियमका कारण ग्रिनले १८ करोड भारु मात्र पाउने भएका हुन् । यो नियमको उद्देश्य अक्सनमा विदेशी खेलाडीका कारण अत्यधिक मूल्यवृद्धि हुन नदिनु भएको हो । तर, बिसिसिआईले भारतीय खेलाडीका हकमा कुनै नियम राखेको छैन । सहभागी टोलीले घरेलु खेलाडीमाथिको बोलीमा कुनै सीमा लागू गरेको छैन । आइपिएलकै सबैभन्दा महँगा खेलाडी भारतकम ऋषभ पन्त हुन् । गत संस्करणमा लखनउ सुपर जायन्टले उनलाई अक्सनमा २७ करोड भारुमा अनुबन्ध गरेको थियो । अक्सनमा ३५० जना मध्ये ७६ खेलाडीमाथि बोली लगाएको थियो ।
ग्रिनको औसत मूल्य दुई करोड भारु
अस्ट्रेलियाका ब्याटिङ अलराउन्डर ग्रिनले अक्सनमा दुई करोड भारु औसत मूल्य राखेका थिए । राजस्थान रोयल्सले सुरुमा दुई करोड ५० लाख भारु बोली लगाएको थियो । त्यसपछि कोलकाताले ग्रिनमाथि दुई करोड ८० लाख भारु खर्चन तयार भयो । राजस्थान रोयल्सले एकैपटक १३ करोड भारु राख्दा ग्रिनको भाउ बढ्यो । ग्रिनलाई भिœयाउन पूर्वविजेता चेन्नई सुपर किंग्स अग्रसर भएको थियो । चेन्नईले उनलाई अनुबन्ध गर्न २० करोड भारु बोली लगाएको थियो । चेन्नईले पुन: २५ करोड भारु लगानी तयार भयो । अन्तिममा कोलकाताले २५ करोड २० लाख भारु बोली लगाउँदा चेन्नई पछि हट्यो । कोलकाताले श्रीलंकाली खेलाडी मथिषा पथिरानालाई १८ करोड भारुमा अनुबन्ध गरेको छ । आइपिएलको इतिहासमा पथिरना श्रीलंकाली खेलाडीमध्ये सबैभन्दा महँगा बनेका छन् । कोलकाताले अक्सनमा राम्रा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानलाई नौ करोड २० लाख भारु खर्चेको छ ।
समग्रमा ऋषभ नै महँगा खेलाडी
कोलकाताले ग्रिनलाई महँगा विदेशी खेलाडीका रूपमा अनुबन्ध गरे पनि समग्र आइपिएलको इतिहासमा भारतका ऋषभ पन्तको रेकर्ड यथावत् छ । गत सिजनमा लखनउले उनलाई कीर्तिमानी रकम २७ लाख भारुमा भिœयाएको थियो । आगामी आइपिएलको सिजनमा ऋषभ महँगा खेलाडीकै रूपमा लखनउबाटै प्रतिस्पर्धा गर्नेछन् । लखनउले उनलाई रिटेन गरेको हो । उनीपछि दोस्रो महँगा खेलाडी भारतकै श्रेयश अयर हुन् । उनलाई गत वर्ष पन्जाब किंग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । गत सिजनमा ऋषभले १४ खेलमा २ सय ६९ रन जोडेका थिए । उनले एक खेलमा ११८ रन जोडेका थिए ।
चर्चित खेलाडीहरू रिटेन
१९औँ संस्करणको आइपिएलको अक्सनअगाडि सहभागी फ्रेन्चाइज टोलीले प्रमुख खेलाडीलाई रिटेन गरेका छन् । साबिक विजेता रोयल्स च्यालेन्जर्स बेंग्लोरले विराट कोहलीलाई २१ करोड भारु र भुवनेश्वर कुमारलाई १० लाख भारुमा रिटेन गरेको जनाएको छ । यसैगरी, पन्जाबले अर्सदीप सिंह तथा युजभेन्द्र चाहललाई समान १८ करोड भारुमा रिटेन गरेको छ । चेन्नईले रितुराज र सञ्जु सामसनलाई समान १८ करोड भारुमै रिटेन गरेको छ । पूर्वकप्तान महेन्द्रसिंह धोनी चार करोड भारुमा चेन्नईमै रिटेन भएका छन् । दिल्लीले अक्षर पटेललाई १६ करोड ५० लाख भारु, लोकेश राहुललाई १४ करोड भारु र कुलदीप यादवलाई १३ करोड २५ लाख भारुमा रिटेन गरेको जनाएको छ । गुजरातले शुभमन गिललाई १६ करोड ५० लाख भारु र मोहमद सिराजलाई १२ करोड २५ लाख भारुमा रिटेन गरेको छ । मुम्बईले हार्दिक पाण्ड्यालाई १६ करोड ३५ लाख भारु र रोहित शर्मालाई १६ करोड ३० लाख भारुमा रिटेन गरेको हो ।
भारतका प्रशान्त र कार्तिकमाथि १४ करोड २० लाख भारु
आइपिएलको अक्सनमा भारतीय खेलाडीमध्ये प्रशान्त वीर र कार्तिक शर्मा समान १४ करोड २० लाख भारुमा चेन्नईमा पुगेका छन् । यी प्रशान्त र कार्तिकका औसत मूल्य ३० लाख भारु हुन् । चेन्नईले उनीहरूलाई भित्राउन ४७ गुना बढी रकम खर्चेको छ । यसैगरी दिल्ली क्यापिट्ल्सले जम्मुका खेलाडी आकिब नवीलाई आठ करोड ४० लाख भारुमा अनुबन्ध गर्यो । आइपिएलको साबिक विजेता रोयल्स च्यालेन्जर्स बेंग्लोरले ज्याकब डफीलाई सात करोड २० लाख भारु र वैंकेटेश अयरलाई सात करोग भारु खर्चेको थियो । लखनउले एन्रिक र स्पिनर रवि विस्नोइलाई समान दुई करोड भारु खर्चँदै अनुबन्ध गरेको छ ।
वेस्ट इन्डिजका अलराउन्डर ज्यासन होल्डर गुजरात टाइटन्समा पुगेका छन् । गुजरातले अक्सनमा उनलाई सात करोड भारुमा अनुबन्ध गरेको हो । अक्सनमा उनको औसत मूल्य दुई करोड भारु रहेको थियो । यसैगरी, म्याथ्यु सटलाई १ करोड ५० लाख भारु खर्चदै चेन्नईले भिœयाएको छ । श्रीलंकाका निसांकामाथि दिल्लीले चार करोड भारु खर्चेको छ । उनको औसत मूल्य दुई करोड भारु थियो ।