एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट गरे मतदान

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट मतदान गरिसकेका छन् ।

बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा केही ढिला गरी मतदान सुरु भएको छ ।  महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि मतदानस्थल भृकुटीमण्डपमा शान्तिपूर्ण रूपमा लाइनमा बसेका छन् ।

यसअघि मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मतदान चौथोपटक सारिँदै बुधबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएको थियो । तर, आज पनि निर्धारित समयमा मतदान सुरू नभई केही समयपछि मतदान सुरु भएकाे छ ।

२९ मंसिरसम्म तय भएको महाधिवेशन मतदान प्रक्रियामा ढिलाइ भएकाले कम्तीमा दुई दिन धकेलिएको छ । अध्यक्षका उम्मेदवार केपी ओली र ईश्वर पोखरेलले विद्युतीय मतदान मेसिनमा देखिएको प्राविधिक समस्या तथा चिसो मौसम मध्यनजर गर्दै आपसी परामर्शमा मंगलबार राति मतदान प्रक्रिया स्थगित गर्ने सहमति गरेका थिए ।

मंगलबार राति मतदान स्थगित हुनुअघि प्रतिनिधिहरू मतदानका लागि दुई घण्टाअघिदेखि लाइनमा बसेका थिए । मतदान स्थगनसँगै प्रतिनिधि तथा उम्मेदवारहरू आ–आफ्नो वासस्थान फर्किएका थिए ।

See More On

सुझावित समाचार