१५औँ अन्तर्राष्ट्रिय फ्रेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका एक हजार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा च्याम्पियनसिप ३ देखि ५ पुससम्म सञ्चालन हुने प्रतियोगिताका निर्देशक दिवाकर महर्जनले मंगलबार जानकारी गराएका छन् । प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायत खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र १३० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । कुल सात लाख २५ हजार रुपैयाँ पुरस्कार राखिएको उनले बताए । आयोजकका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ । आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो । सन् २००० मा सुरु भएको फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा पूरा गरिसकेको छ । २५ वर्ष पुगेको अवसरमा अघिल्ला संस्करणभन्दा भव्य हुने महर्जनले बताए ।
आइओएफटिसीले प्रत्येक दुई वर्षमा प्रतियोगिता आयोजना गर्दै आएको छ । अमेरिकाको पोर्टल्यान्डमा पाँच र नेपालमा चार संस्करण भएको छ । भारत, बेलायत, हङकङ, अमेरिकाको मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण आयोजना गरेका छन् ।
नेपालमा हुने यस प्रतियोगिता सन् २०२६ मा अस्ट्रेलियामा आयोजना हुने १६ औं संस्करणमा नेपाली खेलाडीको छनोटका आधारसमेत हो । १६औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी अस्ट्रेलियाले पाएको छ । विश्व तेक्वान्दोको नियमअनुसार सञ्चालन हुनेछ ।
यस प्रतियोगितामा क्यारुगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा हुनेछ । सिनियर, जुनियर र क्याडेटमा पुरुष र महिलातर्फ विभिन्न तौल समूहमा खेल हुनेछ । पुम्सेतर्फ व्यक्तिगत, जोडी र टिम इभेन्ट समावेश गरिएको महर्जनले बताए ।