२४ असारको बाढीले क्षतिग्रस्त रसुवागढी नाकामा नयाँ बेलिब्रिज जडान भएको छ । पुलको प्राविधिक परीक्षण चलिरहेको र समस्या नदेखिए अर्को सातासम्म नाका सञ्चालनको तयारी छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पुल निर्माण सकिएको र परीक्षणपछि अर्को सातासम्म नाका खुल्ने आफूहरूको अपेक्षा रहेको बताए । ‘पुल निर्माणको काम सकिएको र प्राविधिक परीक्षण चलिरहेको जानकारी पाएका छौँ,’ प्रजिअ पन्थी भन्छन्, ‘चिनियाँ पक्षले पुलबारे आधिकारिक जानकारी दिइसकेको छैन, एक सातापछि नाका सञ्चालनमा आउने हाम्रो अपेक्षा छ ।’
पुल निर्माणको काम सम्पन्न भएपछि नेपाली पक्षले नाका सञ्चालनका लागि आफ्नो तयारी थालेको छ । रसुवागढी भन्सार कार्यालयले दैनिक ५०–६० वटा गाडी जाँचपास गर्न सकिने जानकारी गराएको छ । बाढीले पुलसँगै बगाएको भन्सारको यार्ड पनि बनाउने काम जारी छ । बाढीले पुलसँगै नेपालतर्फ सडकमा पनि ठुलो क्षति पुर्याएको छ । हाल ट्र्याक खोलेर सडक कामचलाउ रूपमा सञ्चालन भइरहेको छ । नाका खुलेपछि रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म एकतर्फी रूपमा सडक सञ्चालन गर्ने योजना रहेको प्रजिअ पन्थी बताउँछन् ।
रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म १६ किलोमिटर सडक पानी परेपछि सञ्चालन गर्न कठिन हुने अवस्था छ । सडक निर्माणको ठेक्का पनि गल्छी—मैलुङ—स्याफ्रुबेँसी—रसुवागढी सडक सुधार आयोजनाले चिनियाँ ठेकदार कम्पनीलाई नै दिइसकेको छ । सो कम्पनीले कामदार राख्न क्यापहरू निर्माण गरिसकेको छ । नाका खुलेलगत्तै थप काम सुरु गर्ने उनीहरूले जानकारी गराएका छन् ।