नमोबुद्ध सहकारीमा बचतकर्ताको दुई अर्ब ठगी गरेका तामाङ पनि एमालेको केन्द्रीय सदस्यका उम्मेदवार

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

सहकारीको करिब दुई अर्ब ठगीमा मुछिएका नेसनल नमोबुद्ध सहकारीका अध्यक्ष ज्ञानबहादुर तामाङ पनि एमाले एघाराैँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मदेवार बनेका छन् । 

उनी इश्वर पोखरेल प्यानलबाट जनजाति कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् । उनको सहकारी बागमती प्रदेशस्थित समस्याग्रस्त सहकारी समितिबाट समस्याग्रस्त घोषणा भएको छ । सहकारीले ११ हजार बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा धेरै रकम डुबाएको छ । उनी अहिले बागमती प्रदेश सभाको सांसदसमेत हुन् ।  

सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट कुस्त रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका– ९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेका थिए । सबै जग्गा ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा पास गरेका थिए । सोही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीको नाममा १४ करोड ऋण झिकेर मनपरी ढंगले परिचालन गरे । तामाङपछि अध्यक्ष बनेका राजकुमार लामासहितका अहिलेका पदाधिकारीले पनि त्यसैलाई निरन्तरता दिए ।

०७२ देखि ०७८ सम्म सहकारीका अध्यक्ष रहेका सांसद तामाङ सहकारीबाट बाहिरिएलगत्तै रकम हिनामिना भएको हल्ला चल्न थाल्यो । त्यसको केही समयपछि बचत फिर्ता माग्दा सहकारीले दिन आनाकानी गरेको बचतकर्ताहरूको भनाइ छ । तामाङ २९ पुस ०७९ मा सम्पन्न सहकारीको २२औँ वार्षिक साधारणसभाबाट अध्यक्षबाट बाहिरिए । त्यसयता लामा अध्यक्ष छन् ।

सुझावित समाचार