दरबारमार्गमा यती समूहलाई नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा सो व्यापारिक घरानाबाट एमाले अध्यक्ष केपी ओलीका पिए राजेश बज्राचार्यले घर लिएको विषयमा ओलीमाथि समेत छानबिन गर्न अनेरास्ववियूले माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ति प्रकाशन गरी अनेरास्ववियुले यो घोटालाको मुख्य जिम्मेवारी ओली भएको दाबी गरेको छ।
ओलीका पिए बज्राचार्यले यती समूहको भगिनी कम्पनी तारा एयरबाट भक्तपुरको बालकोटस्थित रोज भिलेज हाउजिङमा घर उपहार लिएको विषय बाहिरिएपछि सो संगठनले यसमा उच्च तहसम्म छानबिनको माग गरेको हो। अध्यक्ष महेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ अनेरास्ववियू स्पष्ट चेतावनी दिन चाहन्छ– यो भ्रष्टाचार स्वकीय सचिवमा मात्र सीमित छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली स्वयं यस घोटालाका मुख्य जिम्मेवार पात्र हुन्। त्यसैले उनलाई समेत तत्काल छानबिनको दायरामा ल्याई कानुनी कठघरामा उभ्याइनुपर्छ। शक्तिको आडमा गरिएका अपराधहरूलाई ढाकछोप गर्ने कुनै पनि प्रयास स्वीकार्य हुनेछैन।’
