प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यको आगामी निर्वाचनका लागि सुदूरपश्चिममा नेपाली कांग्रेसभित्र उम्मेदवारका आकांक्षीको लर्को लागेको छ।
आकांक्षी धेरै भएपछि कांग्रेसका जिल्ला र क्षेत्रीय समितिहरुले पार्टी केन्द्रको परिपत्रविपरीत उम्मेदवारको नाम सिफारिस गरेका छन्। सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको उम्मेदवार बन्न करिब सय जनाले दाबी गरेका छन्।
कांग्रेसले एक क्षेत्रबाट एक महिलासहित तीन उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो। तर, एउटै क्षेत्रबाट प्रत्यक्षतर्फ १७ जनासम्म उम्मेदवारको सिफारिस आएको कांग्रेस प्रदेश समितिले जनाएको छ। दाबी धेरै परेकाले तीनजना छनोट गरेर पठाउँदा विवाद हुने भएकाले जिल्ला र क्षेत्रीय समितिहरुले सबैको नाम सिफारिस गरेका हुन्।
पार्टी सभापति शेरबहादुर देउवाको नाम डडेल्धुराबाट एकल सिफारिस गरिएको छ। डडेल्धुराबाट २०४८ सालयताका हरेक संसदीय निर्वाचन जित्दै आएका देउवा आठौँ पटक चुनाव लड्ने तयारीमा छन्। जेन–जी आन्दोलनपछि पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै देउवा सक्रिय राजनीतिबाट पनि अलग भएको आकलन गरिएको थियो। कांग्रेस डडेल्धुराले समानुपातिकतर्फ भने पाँचजनाको नाम सिफारिस गरेको छ।
सभापति देउवापत्नीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम कैलाली क्षेत्र नम्बर ५ बाट सिफारिस गरिएको छ। क्षेत्रीय समितिले प्रत्यक्षतर्फ आरजुसहित प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’, केन्द्रीय सदस्य नृपबहादुर वड र यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद डिल्लीराज पन्तको नामसमेत सिफारिस गरेको छ।
कैलाली ४ बाट प्रत्यक्षतर्फ कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर, केन्द्रीय सदस्य नैनसिंह महरसहित सातजनाको नाम सिफारिस गरिएको छ। गत निर्वाचनमा गठबन्धनबिच भागबन्डा मिलाउन डोटीमा एकीकृत समाजवादीका प्रेम आलेलाई छोडेर चुनाव लड्न कैलाली झरेका बलायर यो क्षेत्रबाट निर्वाचित भएका थिए। डडेल्धुरामा टिकट नपाइने भएपछि गत चुनावमै महर कैलाली ४ बाट लड्ने चर्चा थियो।
पूर्वमन्त्री रामजनम चौधरी, नेतृ ईश्वरी न्यौपाने, प्रदेशका पूर्वमन्त्री रणबहादुर रावलसहित पाँचजनाको नाम कैलाली १ बाट र पूर्वराज्यमन्त्री मोहनसिंह राठौरसहित नौजनाको नाम क्षेत्र नम्बर २ बाट र चारजनाको नाम क्षेत्र नम्बर ३ बाट सिफारिस भएर आएको कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए। सचिव सुनारका अनुसार पाँचवटै क्षेत्रबाट समानुपातिकमा ३६ जनाको नाम सिफारिस भएर आएको छ।
दार्चुलाबाट पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुको एकल नाम प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरिएको छ। त्यस्तै बैतडी जिल्ला समितिले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसहित तीनजनाको नाम सिफारिस गरेको छ। डोटीले प्रत्यक्षतर्फ १७ जना र समानुपातिकमा सातजनाको नाम सिफारिस गरेको कांग्रेस प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए।
बाजुराले प्रत्यक्षमा ६ जनाको नाम सिफारिस गरेको छ। आगामी चुनावमा उम्मेदवार नबन्ने घोषण गरेकाले कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेयको नाम उनको गृहजिल्ला बाजुराबाट सिफारिस भएन। बाजुराबाट राष्ट्रिय सभाका लागि पूर्वन्यायाधिवक्ता खम्मबहादुर खाती र पूर्वप्रदेश प्रमुख देवराज जोशीको नाम सिफारिस भएर आएको कांग्रेस प्रदेश समितिले जनाएको छ।
कञ्चनपुर ३ बाट पूर्वगृहमन्त्री रमेश लेखकसहित तीनजना, क्षेत्र नम्बर २ बाट नेता एनपी साउदसहित तीनजना र क्षेत्र नम्बर १ बाट दुईजनाको नाम सिफारिस गरिएको छ। बझाङले प्रत्यक्षमा १० र समानुपातिकमा नौजनाको नाम सिफारिस गरेको छ। त्यहाँबाट राष्ट्रिय सभातर्फ गायक नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नौ र क्षेत्र नम्बर २ बाट १५ तथा दुवै क्षेत्रबाट समानुपातिकमा १९ जनाको नाम सिफारिस भएर आएको क्षेत्रीय समितिले जनाएको छ।
प्रवक्ता रावतले क्षेत्रीय समितिले आफ्नो क्षेत्रका महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिसमेतको बैठकबाट आकांक्षी बढी भए सहमति वा बहुमतका आधारमा प्रत्यक्षतर्फ तीन र समानुपातिकमा दुईजनाको नाम छनोट गरेर सिफारिस गर्नुपर्नेमा आकांक्षी सबैको नाम सिफारिस गरेको बताए। उनले सिफारिस भएर आएका नामहरु प्रदेश समितिले रायसहित केन्द्रमा पठाउने जानकारी दिए।