एमाले केन्द्रीय कमिटीमा बाराबाट १४ जनाको उम्मेदवारी

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमाले केन्द्रीय कमिटीको निर्वाचनमा बाराबाट एक पदाधिकारीसहित १४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार केन्द्रीय सचिवमा पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। पौडेल एमालेभित्र अनुभवी, शालीन, क्षमतावान् नेताका रूपमा चिनिन्छ्न्। संविधानसभाका सदस्य एवं पूर्वमन्त्री पौडेल अघिल्लो समितिमा पोलिटब्युरो सदस्य थिए।

यसैगरी केन्द्रीय सदस्यमा अन्य दुई पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वालाकुमारी साहले उम्मेदवारी दिएका छन्। मैनाली र साह विघटित प्रतिनिधिसभाका सदस्य हुन् । मैनाली बारा १ र साह बारा ३ बाट निर्वाचित भएका थिए। साह पूर्वमन्त्री हुन् भने मैनालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारका रूपमा काम गरेका थिए ।

यता अघिल्लो समितिमा केन्द्रीय सदस्य रहेका बलवीर चौधरी, महम्मद समीर, एकबाल मियाँले उम्मेदवारी दिएका छन्। चौधरी संविधानसभाका सदस्य, मियाँ पूर्वप्रतिनिधिसभा सदस्य र समीर प्रदेश सभा सदस्य हुन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छोडेर आएका पूर्वमन्त्री किसान श्रेष्ठले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। श्रेष्ठ बारा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी पूर्वश्रममन्त्री हुन् ।

युवाबाट मोबिन आलमको उम्मेदवारी परेको छ। आलम एमाले मधेश प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय युवा संघका केन्द्रीय सचिव हुन्। मजदुर नेता आनन्द थामी र कमलेश झाले पनि उम्मेदवारी दिएका छन्। यता जितपुरसिमरा उपमहानगरपालिका– १४ की वडाध्यक्ष चयन गुरुङसहित दुर्गा कोइराला र सीता सुवेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन्।

दलितबाट दशरथ रामले उम्मेदवारी दिएका छन्। यसैगरी केन्द्रीय लेखा आयोगमा टिना सुवेदी र अनुशासन आयोगमा कमला घिमिरेको उम्मेदवारी परेको छ।

See More On

सुझावित समाचार