नेपाली कांग्रेस कञ्चनपुरका तीनै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य एवं त्यसअघि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिसमेत रहेका गोपीप्रसाद उपाध्याय, महाधिवेशन सदस्य भरत विष्ट, समानुपातिकतर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभातर्फ हरेन्द्र विष्ट (होसियार), प्रकाशराज पन्त रहेका छन् । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति लालबहादुर सिंहले यसअघि निर्वाचित भएका एनपी साउद, हरिप्रसाद बोहरा, दलबहादुर बोहरालाई प्रत्यक्षतर्फ सिफारिस गरेको बताए । समानुपातिकतर्फ गणेश नेपाली (दमाईं), तौला राना, घनश्याम विश्वकर्मा रहेका छन् ।
क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति केशवबहादुर चन्दले यसअघि निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश लेखक, शंकरबहादुर चन्द, प्रेमबहादुर विष्टलाई प्रत्यक्षतर्फ सिफारिस गरेको बताए ।
समानुपातिकतर्फ कल्पना केसी, मायादेवी भट्ट, रामसोगारथ ठाकुर, राष्ट्रिय सभातर्फ खगेश्वर बोहरा, वीरबहादुर सुनार, गोपाल भण्डारी, दुर्गाप्रसाद जोशी, यज्ञराज चटौत, गौराजबहादुर लिम्बू र रमिता शाही (देउवा)लाई सिफारिस गरिएको छ । क्षेत्रबाट जिल्ला कार्यसमितिमा सिफारिस भएका उम्मेदवाहरूलाई जिल्लाले प्रदेश पठाइनेछ ।
नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मीनहादुर सिंहले जिल्लाका तीनैवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक एवं राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूलाई छिट्टै प्रदेशमा सिफारिस गर्ने बताए । क्षेत्र नम्बर १ मा भरत विष्ट र गोपीप्रसाद उपाध्याय अहिलेसम्म राजकीय पदमा नगएका नेता हुन् ।
क्षेत्र नम्बर २ र ३ मा एनपी साउद र रमेश लेखक पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित नेता हुन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एनपी र तत्काीन गृहमन्त्री रहेका लेखक कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनीहरूलाई आफ्नो विरासत जोगाउने दबाब छ । अर्कातिर आकांक्षी नयाँ उम्मेदवारहरूले कतिपटक उनीहरूलाई मात्रै टिकट यसपटक नयाँलाई पनि मौका दिनुपर्ने धारणा अघि सार्दै आएका छन् । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा जति चुनाव उति पुरानै अनुहार कतिपटक भन्दै आवाज पहिल्यैदेखि उठिरहेको छ ।