एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ। मतदान निर्धारित समयमा नहुने भएको छ । मतदाताको नामावली अद्यावधिकको काम भइरहेकाले निर्धारित समयमा मतदान हुन सकेको छैन ।
मतदान सुरु हुन कम्तीमा ३ देखि ४ बज्न सक्नेछ । यसअघि केन्द्रीय निर्वाचन आयोगले आज मध्याह्न १२ बजेपछि मतदान सुरु हुने बताएकाे थियाे । मतदानस्थल भृकुटीमण्डप तोकिएको छ।
ओली र पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा
अध्यक्ष पदमा सहमति नजुटेपछि अन्य पदहरूमा पनि प्रतिस्पर्धा बढेको छ। अध्यक्ष पदका लागि केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी दर्ता भएपछि दुवै प्यानलबाट अन्य पदहरूमा समेत उम्मेदवारी परेको छ।
एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचनमा कुल दुई हजार २६२ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन्।
निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्ष (एक) मा दुई, उपाध्यक्ष (पाँच) मा ११, महासचिव (एक) मा दुई, उपमहासचिव (तीन) मा सात, सचिव (नाै) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।