रोकिएको यू–१६ लिग चार महिनापछि सुरु

जेन–जी आन्दोलनपछि एन्फाले अनिश्चितकालका लागि लिग स्थगित गरेको थियो

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

राजनीति घटनाक्रम र लामो विवादपछि रोकिएको एन्फा यू–१६ युथ लिग सोमबारबाट पुन: सुरु भएको छ । २० असार २०८२ बाट सुरु भएको लिगका ९१ खेल २६ साउनमा सकिएको थियो । त्यसपछि केही समय लिगलाई विश्राम दिइयो । २४ साउनमा संकटा र सातदोबाटो युथबिचको १३८औँ खेल भएपछि लिगका बाँकी खेल हुने टुंगो लागेको थिएन । जेन–जी आन्दोलनपछि त्यही निहुँ पारेर एन्फाले यो लिग नै अनिश्चितकालीन स्थगित गर्यो ।

अन्तत: एन्फाले क्लबको सहमतिमा बाँकी खेल सम्पन्न गर्ने गरी सोमबारबाट सुरु गरेको छ । सहिद स्मारक ए डिभिजन लिगका १४ क्लब सहभागी भएको लिगमा ४१ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको थियो । पुलिसले १८ मध्ये १३ खेल जितेको छ । १८औँ चरणमा खेल सकिएपछि लिगका बाँकी खेल पुन: सुरु भएका छन् । मच्छिन्द्रलाई उछिन्दै मनाङ मस्र्याङ्दी क्लब दोस्रो स्थानमा उक्लिएको छ । 

सोमबार सुरु भएको खेलमा हिमालयन शेर्पा क्लबले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६–० को सानदार जित निकाल्यो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शेर्पालाई जिताउन विशु सुनुवारले ह्याट्रिक गोल गरे । त्यस्तै, किशोर बम, विवेक हमाल र जेनिल सुब्बाको नाममा एक गोल रह्यो । 

अर्काे खेलमा मनाङ त्रिभुवन आर्मी क्लबलाई ५–० ले हरायो । आर्मीको जितमा प्रकाश सिंहले ह्याट्रिकसहित चार तथा रोहन थापामगरले एक गोल गरे । अर्काे खेलमा फ्रेन्ड्सले श्रीभगवती क्लबलाई ३–१ ले हरायो । फ्रेन्ड्सको जितमा सदानन्द मगर, सजिन तामाङ र सुजन विकले समान एक गोल गरेका थिए । यसअघि फ्रेन्ड्सकै इरफान अलीले आत्मघाती गोल गरेका हुन् । 

सुझावित समाचार