नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न नसकेपछि इच्छा व्यक्त गर्ने सबैको नाम सिफारिस गरेको छ।
कांग्रेस रामेछापले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूलाई पार्टी कार्यालयमा निवेदन पेस गर्न आह्वान गरेको थियो। सोही सूचनाका आधारमा निवेदन पेस गरेका १० जनालाई नै जिल्लाले सिफारिस गर्ने निर्णय गरेको हो।
जिल्ला सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम), अर्जुनकुमार केसी, युवराज भट्टराई, वीरबहादुर तामाङ, भरतसाद चौलागाईं, जितेन्द्र मोक्तान, रत्नबहादुर कार्की, रत्नहरि ढुंगेल, रामकृष्ण खड्का र जीवनबहादुर कार्कीको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ।
त्यस्तै, समानुपातिकतर्फ १४ जनाले आकांक्षा राखेर उम्मेदवारका लागि पार्टी कार्यालयमा दरखास्त दिएका थिए। जसमा रामकुमार खड्का, मीनकुमारी कार्की, झनकबहादुर श्रेष्ठ, गंगाकुमारी अधिकारी, रामकुमारी डाँगी, गेल्जे शेर्पा, वेदराज लामा, कुमारी हायु, विनिता खड्का, कल्पना खड्का, हिमालदास श्रेष्ठ, गेल्जे शेर्पा लामा, मुक्तबहादुर महत र बलबहादुर दमाईं रहेका छन्।
त्यसैगरी, राष्ट्रिय सभातर्फ पनि पाँचजनाले निवेदन दिएका छन्। डा. सुमन कर्माचार्य, विनोदबहादुर कार्की, शिवकुमार श्रेष्ठ, आङटावा शेर्पा र रामचन्द्र खड्काले निवेदन दिएका हुन्। उनीहरू सबैको नाम पार्टीले सिफारिस गरी पठाउने निर्णय गरेको छ।
पार्टीले बनाएको मापदण्डअनुसार उम्मेदवारी दिएका सबैको नाममा छलफल चलाएपछि सहमति जुट्न नसकेपछि सबैको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय भएको नेपाली कांग्रेस रामेछापका सचिव विनोदकुमार कार्कीले जानकारी दिए।