हत्या आरोपित राजगढ गाउँपालिका अध्यक्ष मण्डल फरार, अदालतको आदेशपछि उपाध्यक्ष बनिन् कार्यवाहक

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकी फरार भएका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलको निर्णय उच्च अदालत जनकपुर राजविराज इजलासले खारेज गरेको छ। उपाध्यक्ष रेणु मण्डलले दिएको निवेदनमा आइतबार न्यायाधीश उज्ज्वल शुक्लले सुनवाइ गर्दै अध्यक्षको निर्णय बदर गरेको हो ।


उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐनबमोजिम गाउँपालिका उपाध्यक्षलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी बहन गर्न दिने आदेश दिएको छ।

हत्याको फरार आरोपी रहेको विषयको समाचार बाहिरिएपछि अनुपस्थित हुने भन्दै अध्यक्ष मण्डलले मंसिर १७ गते वडा नम्बर ४ का वडाध्यक्ष अशोककुमार साहलाई कार्यवाहक गाउँपालिका अध्यक्ष तोकिएका थिए। उक्त निर्णयविरुद्ध उपाध्यक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

निवेदनमाथि सुनुवाइ गर्दै अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) को खण्ड ख (२) अनुसार अध्यक्ष सात दिनभन्दा बढी समय अनुपस्थित भएमा उपाध्यक्षले स्वतः कार्यभार सम्हाल्नुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट गरेको छ। उपाध्यक्ष पदमा बहाल रहँदा वडाध्यक्षलाई सम्पूर्ण कार्यभार दिने व्यवस्था ऐनको दफा १८(२) बाट सम्भव नहुने अदालतको ठहर छ।

अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउसमेत नगरेकाले ‘पक्राउ परेपछि मुद्दाको बाँकी कारबाही गर्ने गरी’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मण्डलसहित सातजनाविरुद्धको मुद्दा मुल्तबीमा राखेको थियो । तर, त्यसको साढे नौ महिनाअघि नै ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

मण्डलसहित सातजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको देखिन्छ । पुजारी हत्या मुद्दामा मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा मुद्दा चलेको थियो । 

तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको अस्थिपञ्जर ३ साउन ०५५ मा फेला परेको थियो । हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका मण्डलका बुबा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या घटना भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । राजविराजमा रहेका गाविस अध्यक्षसँग बैठक गर्ने भन्दै पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण जाने पुलनजिक हत्या गरेर फालेको आरोप छ । 

मन्दिरको बाली लुटपाट गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगारामविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएका थिए । तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छ, गएर भेटघाट गरी प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भनेर बचा यादव (बौका)ले पुजारीलाई लिएर गएको देखिएको अभियोगपत्रमा छ । तर, पुजारी बेपत्ता भएको १० दिनपछि अस्थिपञ्जर फेला परेको थियो । उक्त अस्थिपञ्जर (हड्डी)को राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षण भएको देखिन्छ ।

सुझावित समाचार