कैलाली नाकाबाट चार महिनामा २० करोडको चामल आयात

समर्थन मूल्यमा धान बिक्री गर्न किसानलाई धौधौ छ, तर व्यापारीले भारतबाट सस्तो मूल्यको चामल ल्याएर बजारमा बिक्री बढाएका छन्

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

स्थानीय उत्पादनले उचित मूल्य र बजार नपाइरहँदा भारतबाट कैलाली भन्सार कार्यालय हुँदै चालू आर्थिक वर्ष ०८२/८३ को चार महिनामा पौने २० करोड मूल्यको चामल आयात भएको छ । कैलाली भन्सार कार्यालय, धनगढीको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्म त्रिनगर नाकाबाट १९ करोड ७५ लाख ५४ हजार मूल्यको ३४ लाख ५२ हजार किलो चामल स्थानीय व्यापारीले आयात गरेका छन् । 

भन्सार कर्मचारीका अनुसार मंसिरमा पनि चामलको आयात बढिरहेको छ । गत आवमा त्रिनगर नाकाबाट ८९ करोड ६४ लाख मूल्यको एक करोड २६ लाख ५१ हजार किलो चामल आयात भएको भन्सार अधिकृत तेज रावलले जानकारी दिए । 
भारतीय चामल सस्तोमा पाइने र नाफा बढी हुने भएकाले गल्ला व्यापारीले भारतबाट चामल आयातलाई प्राथमिकता दिन्छन् ।

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा धान बिक्री गर्न र लागत उठाउनसमेत मुस्किल भएको गोदावरी नगरपालिकाको गेटाका किसान सत्यराज रावलले गुनासो गरे । भारतले त्यहाँका किसानलाई मल, बिउ, सिँचाइ, उपकरणमा धेरै सहुलियत दिने भएकाले त्यहाँ र यहाँको उत्पादन लागतमा फरक रहेको उनले बताए । ‘सस्तो पाएर व्यापारीले उतैबाट चामल ल्याउँछन्, हामीलाई यहाँ धान बिक्री गर्नै मुस्किल छ,’ उनले भने, ‘हाम्रो उत्पादनले बजार पाउन मूल्यसँग प्रतिस्पर्धा हुने गरी भारतबाट आयात हुने चामलमा कर लगाइदिनुपर्छ ।’ 

कृषि ज्ञानकेन्द्र कैलालीका अनुसार धान उत्पादनको उर्वर जिल्ला कैलालीमा करिब ६८ हजार हेक्टरमा बर्खे धान रोपिन्छ । कार्यालयले यस वर्ष दुई लाख ९४ हजार मेट्रिकटन धान उत्पादन भएको आकलन गरेको छ । कार्यालयका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले कैलालीमा उत्पादित धानमध्ये करिब आधा उपभोग हुने र आधा बिक्री हुने अनुमान रहेको बताए ।

कृषि ज्ञानकेन्द्रको अनुमानअनुसार किसानले झन्डै डेढ लाख मेट्रिकटन धान बिक्री गर्छन् । खाद्य व्यवस्था कम्पनीले भने यो सिजनमा कैलालीबाट ३८ हजार नौ सय ४८ क्विटल मात्र मोटो धान खरिद गरेको छ । ‘किसान धान खरिद पुनः सुरु हुन्छ कि भनेर खरिद केन्द्रहरूमा अहिले पनि सोध्न आइरहन्छ,’ खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले भने, ‘कोटा बढाउन केन्द्रलाई आग्रह गरेका छौँ ।’ यस वर्ष ३५ हजार क्विन्टल कोटा तोकिएकोमा खरिद केन्द्रभित्र आएको समेत गरी करिब ३९ हजार क्विन्टल खरिद गरिएको उनले बताए ।

दुई वर्षयता त्रिनगर नाकाबाट चामलको आयात ह्वात्तै बढेको छ । भन्सारको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा पाँच करोड ९३ लाख मूल्यको ६ लाख १० हजार किलो चामल आयात भएको थियो । 

कैलालीको भजनी, लालबोझीका किसान सन्तराम चौधरी भन्छन्– भारतबाट हुने आयातका कारण स्वदेशी धान बिक्री गर्न कठिनाइ भइरहेको छ । सरकारले तोकेको भन्दा प्रतिक्विन्टल आठ सय ६० रुपैयाँ र गत वर्षको बजार मूल्यभन्दा यस वर्ष पाँच सय रुपैयाँ कममा बिक्री गर्नुपर्यो । 

सुझावित समाचार