एनपिएल : लुम्बिनी च्याम्पियन बन्दाका चार नायक

पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी अविस्मरणीय प्रदर्शन गर्दै दोस्रो प्रयासमै च्याम्पियन बन्न सफल

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

चामत्कारिक प्रदर्शन गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि जितिसकेको छ । पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी दोस्रो अवसरमै आफूलाई प्रमाणित गर्न सफल भयो । कप्तान रोहितकुमार पौडेलले सानदार प्रदर्शन गर्दै टोलीलाई पछिल्लो पाँच खेलमा लगातार जित दिलाए ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सलाई फाइनलमा, दोस्रो स्थानमा रहेको विराटनगरलाई क्वालिफायर २ तथा तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाजलाई इलिमिनेटरमा स्तब्ध बनाउँदै लुम्बिनी च्याम्पियन बन्यो । २७ दिनसम्म चलेको क्रिकेट महोत्सवको लिग चरणमा भने लुम्बिनीको प्रदर्शनमा उतारचढाव आइरह्यो । लिग चरणमा सातमध्ये चार खेल जितेर टोली चौथो हुँदै प्ले अफमा स्थान बनाउन सफल भएको थियो । 

लगातार तीन खेलमा पराजित हुँदा टोलीको प्ले अफ यात्रा संकटमा थियो, तर उत्कृष्ट कमब्याक गर्न सफल भयो । टोलीको यो यात्रामा कप्तान रोहितले सानदार प्रदर्शन गरे । रोहितसँगै शेर मल्ल, विदेशी खेलाडीद्वय रुबेन ट्रम्पलम्यान र डार्सी सटले उत्कृष्ट प्रदर्शन गरे । 

यी चारै खेलाडी लुम्बिनी च्याम्पियन बन्दाका मुख्य नायक हुन् । त्यस्तै, सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, दिनेश अधिकारी, अभिशेष गौतम, निरोसन डिकवेलजस्ता खेलाडीको प्रदर्शन पनि महत्वपूर्ण रह्यो । 

रोहितकुमार पौडेल 
रन : २७६, विकेट : १०

एनपिएलले नयाँ च्याम्पियन लुम्बिनी लायन्स पाउँदा कप्तान रोहितको प्रदर्शन उच्च रह्यो । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले टोलीलाई संकट आइलाग्दा रन मात्रै बनाएनन्, विकेट पनि लिए । फाइनलमा ह्याट्रिक विकेट लिए । यस्तो अवसर विश्व क्रिकेटमा कमै आउँछ । रोहितले फाइनलमा ह्याट्रिक गर्दा समग्रमा १० विकेट लिए ।

यता, अर्धशतक नबनाए पनि उनले २७६ रन बनाएका छन् । रोहित प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । त्यस्तै, पहिलो नेपाली खेलाडी बने । २३ वर्षीय दायाँहाते ब्याटरले उत्कृष्ट प्रदर्शनसँगै ६० लाखबराबरको कार र पल्सर बाइक प्राप्त गरेका छन् । यो प्रतियोगितासँगै रोहितले एकै वर्षमा जिन्सी पुरस्कारसहित करिब एक करोड हात पारेका छन् । रोहित एकदिवसीय टी–२० विश्वकपका कान्छा कप्तानसमेत हुन् । 

शेर मल्ल 
(विकेट : १७, रन : ४६)

शेर मल्ल एनपिएल उपाधि लगातार जित्ने एक मात्रै खेलाडी हुन् । गत सिजन जनकपुर बोल्ट्स च्याम्पियन हुँदा शेर टोलीका मुख्य खेलाडी थिए । टोली च्याम्पियन भए पनि उनी रिटेन हुन सकेनन् । मिनी अक्सनबाट लुम्बिनीले क्याटगोरी ‘बी’का शेरलाई दश लाखमा प्राप्त गरेको थियो । लगातार भाग्यमानी बन्दै शेर दोस्रोपटक च्याम्पियन बन्न सफल भएका छन् ।

यसपटक उनको प्रदर्शन निकै उच्चस्तरको रह्यो । राष्ट्रिय टोलीमा स्थापित भएका बलरहरूलाई पछि पार्न सफल भए । नौ इनिङ्समा सर्वाधिक १७ विकेट हात पारे । इमर्जिङ प्लेयर घोषित हुँदै पल्सर बाइक पाएका छन् । धनगढीका २३ वर्षीय खेलाडीले लगातार दुईपटक नै आफ्नो प्रदेशलाई उपविजेता बनाउन भूमिका खेले । शेरले यसपटक विराटनगर, काठमाडौं र सुदूरपश्चिमविरुद्धको महत्वपूर्ण खेलमै तीन–तीन विकेट लिएका थिए ।

डार्सी सर्ट 
(रन : २५६)

अस्ट्रेलियन अनुभवी ब्याटर डार्सी सर्टले पहिलोपटक एनपिएल खेलेका हुन् । ३५ वर्षीय बायाँहाते ओपनरले सानदार प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन नै बनाए । टोलीको च्याम्पियन यात्रामा डार्सीले आफ्नो अनुभवको भरपुर सदुपयोग गरे । डार्सीले एक अर्धशतकसहित प्रतियोगितामा २५६ रन बनाए ।

उनी सर्वाधिक रन बनाउने चौथो खेलाडी बन्दा १० इनिङ्समा २६ चौका र नौ छक्का हिर्काएका थिए । प्रतियोगितामा पोखरा एभेन्जर्सविरुद्ध मात्रै दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरविरुद्ध लिग चरणमा पाँच विकेटको जित निकाल्दा ५७ रन बनाए । उनको अर्धशतकसँगै टोलीले सहज जित निकालेको हो । त्यसबाहेक दोस्रो क्वालिफायरमा विराटनगरविरुद्ध नै ४१ बलमा ४५ रनको योगदान गरेका थिए । डार्सीले दुई वर्ष अस्ट्रेलियाको टिमबाट खेल्दा एकदिवसीयमा इंग्ल्यान्ड र टी–२० मा न्युजिल्यान्डविरुद्ध खेल्दै डेब्यु गरेका थिए । 

रुबेन ट्रम्पलम्यान (विकेट : १५, रन : ६५ )
नामिबियाका २७ वर्षीय तीव्र गतिका बलर 

रुबेन ट्रम्पलम्यानले पहिलोपटक एनपिएल खेलेका हुन् । उनी पहिलो अवसरमै लुम्बिनीलाई च्याम्पियन बनाउन सफल भए । योसँगै आफ्नो करिअरमै उनले पहिलो फ्रेन्चाइज उपाधि हात पारेका छन् । प्रतियोगिताअघिसम्म उनलाई कुनै पनि टोलीले ध्यान दिएका थिएनन् । तर, प्रतियोगिता चल्दै गर्दा विपक्षीहरूका लागि रुबेन धातक बन्दै गए । रुबेनले प्रतियोगिताको १० इनिङ्समा १५ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा रहे ।

उनको इकोनोमिक प्रदर्शन ६.७२ रह्यो । फाइनलमा भने उनले अविस्मरणीय प्रदर्शन गरे । २.१ ओभर बलिङ गरेका रुबेनले ३ रन मात्रै दिए भने तीन विकेट लिएका छन् । उनले फाइनलमा सुदूरपश्चिम र पहिलो खेलमा चितवनविरुद्ध समान तीन विकेट हात पारेका थिए । पोखरा र कर्णाली याक्सविरुद्ध मात्रै विकेटविहीन भए । त्यस्तै, उनले ६५ रन पनि बनाए ।

See More On

सुझावित समाचार