सातौँ इन्ट्रा म्याड्रिडिस्टा फुटसल सम्पन्न

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

सातौँ इन्ट्रा म्याड्रिडिस्टा फुटसल प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौंको बल्खुस्थित भिजनओभा फुटसलमा आइतबार भएको प्रतियोगितामा पुरुषतर्फ आरएमएफसिएन काठमाडौंले उपाधि जित्यो। आरएमएफसिएन पोखरा टोली उपविजेतामा सीमित रह्यो। 

महिलातर्फ आरएमएफसिएन काठमाडौं ‘बी’ टोली च्याम्पियन भयो। आरएमएफसिएन नुवाकोट उपविजेता बन्यो। रियल म्याड्रिड फ्यान क्लब नेपाल, काठमाडौं शाखाद्वारा आयोजित प्रतियोगितालाई एक्सेस एजुकेसन नेटवर्कले साथ दिएको थियो। 

पुरुष विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ तथा महिला विजेताले १० हजार रुपैयाँ प्राप्त गरे। ६०० भन्दा बढी म्याड्रिड समर्थकको उपस्थितिले प्रतियोगितालाई उत्सवमा रूपान्तरण गरेको थियो।

व्यक्तिगत पुरस्कारतर्फ पुरुष विधामा सुजन तामाङ (काठमाडौं) उत्कृष्ट खेलाडी घोषित भए भने उमित थापा (काठमाडौं) उत्कृष्ट गोलकिपर बनेका छन्। सुवास गुरुङ (पोखरा) उदीयमान खेलाडी, तुकराज राना (पोखरा) सर्वाधिक गोलकर्ता तथा मनोज तिमल्सिना (काठमाडौं) उत्कृष्ट म्यानेजर घोषित भएका छन्।

महिलातर्फ रिना राई (काठमाडौं ‘बी’) उत्कृष्ट खेलाडी, रेजिना दर्लामी मगर (काठमाडौं ‘बी’) सर्वाधिक गोलकर्ता, अस्मिता गुरुङ (नुवाकोट’ उदीयमान खेलाडी, रसमिला चौलागाईं (काठमाडौं ‘बी’ उत्कृष्ट गोलकिपर तथा अंकित दवाडी (काठमाडौं ‘बी’) उत्कृष्ट म्यानेजर घोषित भइन्। खेल अवधिभर अनुशासित र खेलभावना देखाएको आरएमएफसिएन बुटवल टोलीले फेयर प्ले अवार्ड हात पार्यो।

प्रतियोगिताको उद्घाटन नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी मणिकुमार लामा रहेका थिए। विजेता खेलाडीलाई  राष्ट्रिय फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामा, पूर्वराष्ट्रिय टोली कप्तान विराज महर्जन, पूर्वराष्ट्रिय गोलकिपर बिकेश कुथुलगायतले पुरस्कृत गरेका थिए।

सुझावित समाचार