एनपिएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाखको स्कलरसिप

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) मा ‘प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ द टुर्नामेन्ट’ घोषित भएका तिलक राज भण्डारीलाई एनपिएल ०८२ को एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाखबराबरको स्कलरसिप प्रदान गरेको छ।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आइटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।

बुटवलका २१ वर्षीय स्पिनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपिएलको उपाधि जितेका हुन्। उनले लुम्बिनीलाई पहिलोपटक एनपिएलको च्याम्पियन बनाउने क्रममा बलिङबाट महत्वपूर्ण योगदान दिएका थिए । तिलकले प्रतियोगिताभर आठ खेल खेल्ने क्रममा आठ विकेट नै लिए।

शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको हो। फाइनलमा तिलकले सुदूरपश्चिमविरुद्ध ४ ओभरमा २६ रन खर्चेर एक विकेट लिएका थिए।

उनले क्वालिफायर २ मा विराटनगर किंग्सविरुद्ध सानदार बलिङ रच्दै तीन विकेट लिएका थिए र प्लेअर अफ द म्याचसमेत घोषित भएका थिए।
 
तिलकले यसअघि नेपालको यू–१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन्। उनले आइसिसी यू–१९ पुरुष विश्वकपसमेत खेलेका छन्। यस्तै, लुम्बिनी प्रदेशबाट डोमेस्टिक क्रिकेट पनि खेल्दै आएका छन्।
 
युवा लेग स्पिनर तिलकलाई भविष्यमा नेपालको सम्भावना भएको स्पिनरको रूपमा हेरिएको छ। उनले एनपिएलको पहिलो संस्करण पनि लुम्बिनी लायन्सबाट खेलेका थिए र उनलाई दोस्रो संस्करणमा रिटेन गरिएको थियो।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।

सुझावित समाचार