नेपाली कांग्रेसका नेता तथा गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
तीन करोड ६८ लाख ४७ हजार अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि छ । पाँच वर्ष गोकर्णेश्वरको मेयर हुँदा उनले सो रकम कमाएको अख्तियारको दाबी छ। श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई समेत सम्पत्ति जफतको प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएर मुद्दा चलाएको छ । नेता चालिसे काठमाडौं– ३ का निवर्तमान सांसद हुन्। उनी संसद्को अर्थ समितिको सभापतिसमेत थिए।
अख्तियारको छानबिनमा उनीसँग ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति भेटिएको छ। त्यसमध्ये झन्डै आधा सम्पत्ति उनले मेयर भएपछि जोडेका थिए। त्यसको स्रोत खुलाउन नसकेपछि आयोगले मुद्दा दायर गरेको हो।