हलेसी तुवाचुङ नगरपालिकाले विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले नगरपालिकाभित्र बसोबास गरिरहेका तीन घर विपन्न परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत भूकम्पप्रतिरोधी घर निर्माण गरिदिने निर्णय पारित गरेको हो ।
वडा– १०, अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्की, वडा– ६ मंगलटारका भया दमाईं र वडा– २ डिकुवाका देशवीर राईको परिवारलाई घर निर्माण गरिदिने निर्णय गरिएको गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । ‘अर्खौले, मंगलटार र डिकुवाकागरी तीन विपन्न घरपरिवारलाई घर निर्माण गरिदिने निर्णय पारित गरेका छौँ । उनीहरूको अवस्था निक्कै नै नाजुक छ,’ उनले भनिन्, ‘उनीहरूका लागि चार महिनाअघि नगरपालिकाको तर्फबाट नगद रु. १५–१५ हजार र खाद्यान्न उपलब्ध गराएका थियौँ । दैनिक ज्यालादारीको काम गरेर गुजारा गरिरहेका उनीहरूको ओत लाग्ने घर छैन । ओत लाग्ने ठाउँ व्यवस्थापन गर्नका लागि उनीहरुलाई भूकम्पप्रतिरोधी घर निर्माण गरिदिने निर्णय पारित गरेका हौँ ।’
परिवारसहित फिरन्ते जीवन बिताइरहेका अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्कीको १२ वर्षीया छोरी तारा सार्की गत साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी– ३ बाम्रामका राम हिम्माङको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । अरूको घर तथा निर्माण योजनामा ज्यालादारीको काम गर्दै जीवन निर्वाह गरिरहेका सार्की परिवारको ओत लाग्ने आफ्नै घर छैन ।
बाम्राङमा कोठा भाडा लिएर बस्दै आएका सार्कीदम्पती अहिले सातजनाको परिवारसहित स्थानीय दत्तबहादुर सार्कीको घरमा आश्रय लिएर बसेको स्थानीयले बताएका छन् । छोरीको मृत्युपछि जन्मस्थल अर्खौले फर्किएका सार्की परिवार अहिले पनि ज्यालादारीकै काम गरेर गुजारा गरिरहेका छन् ।
मंगलटारकी भया दमाईं एकल महिला हुन् । वृद्धावस्थाकी दमाईं स्थानीय काशीराज राउतको घरमा बस्दै आएको नगर प्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
डिकुवाका देशवीर श्रीमतीसहित आफ्नै जग्गामा बाँसको कटेरो बारेर बस्दै आएका छन् । खेतपातीकाे कामसमेत गर्न नसक्ने अवस्थाका वृद्धदम्पतीका लागि ओत लाग्ने घर निर्माण गरिदिनका लागि वडा कार्यालयमा कार्यरत प्राविधिकको सहयोगमा लागतसहितको स्टिमेट बनाउने काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।