सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ कोदारीस्थित इको पहिरो नियन्त्रण गर्न दुई महिनाभित्र काम सुरु गर्ने सहमति जुटेको छ । तातोपानीका स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबिच यस्तो सहमति जुटेको हो । सहमतिसँगै आठ दिनदेखि बन्द कोदारी सडक खुला भएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बिहीबार र शुक्रबार स्थानीयसँग वार्ता गरेका थिए । सहमतिपछि २० मंसिरदेखि बन्द सडक खुलेको छ । खासामा अड्किएका मालवाहक कन्टेनर धमाधम लिपिङ प्रवेश गर्न थालेका छन् । भोटेकोशी– २ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा रहेका स्थानीय र सडक डिभिजनबिच सहमति भएपछि तातोपानी नाका सुचारु भएको छ । इको पहिरो नियन्त्रणका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ४९ लाख रकम विनियोजन भएर ठेक्कासमेत आह्वान भइसकेको छ । ‘ठेक्का सम्झौता गरेर दुई महिनाभित्र काम सुरु गर्छाैँ,’ डिभिजन प्रमुख भण्डारीले भने । इको पहिरोमाथि रहेका मानवबस्ती जोगाउन सबै उपाय लगाउने पनि उनले बताए । ‘भौगोलिक विकटताले सबै कुराको जिम्मा लिन सकिने अवस्था त छैन । तर, बस्ती सुरक्षालाई ध्यान दिने सहमति भएको छ,’ उनले भने ।
पहिरो नियन्त्रण गर्दा गाउँ सबैको जिम्मेवारी लिन माग गरेकाले स्थानीयसँग तत्काल सहमति हुनसकेको थिएन । हाललाई अन्तर्राष्ट्रिय कोदारी राजमार्ग सुचारु गर्ने सहमति जुटेको वडाध्यक्ष श्रेष्ठले बताए । ‘६० दिनभित्र निर्माणको काम सुरु गर्ने सहमति भएको हो,’ उनले भने । कोदारी राजमार्ग बन्द हुँदा खासामा रोकिएका कन्टेनरका स्याउ कुहिएको छ । सडक खुला भए पनि चिनियाँले मालवाहक कन्टेनर धमाधम पास हुन नदिने हो कि भन्ने चिन्ता व्यापारीमा परेको छ ।