दुईपटक एनपिएल जित्ने शेर मल्ल एक्ला खेलाडी

पहिलो सिजनमा जनकपुर बोल्ट्स तथा दोस्रोमा लुम्बिनीबाट शेर मल्लले ट्रफी उचाले

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम रोयल्सका हेमन्त धामी तथा लुम्बिनी लायन्सका स्पिनर शेर मल्लमध्ये एक खेलाडीले उपाधि भिडन्तमा व्यक्तिगत रेकर्ड राख्ने निश्चित थिए । सुदूरपश्चिम जित्दा हेमन्त र लुम्बिनीले बाजी मार्दा शेर लगातार दोस्रोपटक च्याम्पियन बन्ने सँघारमा थिए । गत वर्ष जनकपुर बोल्ट्स च्याम्पियन हुँदा यी दुवै खेलाडी टोलीका महत्वपूर्ण खेलाडी थिए । यस सिजनमा जनकपुरले अक्सन अगाडि शेर र हेमन्तलाई रिलिज गरेको थियो । 

अक्सनमा शेरलाई लुम्बिनी र हेमन्तलाई सुदूरपश्चिमले भित्र्याएको थियो । लुम्बिनी च्याम्पियन भएसँगै शेर फरक–फरक टोलीबाट च्याम्पियन बन्ने पहिलो खेलाडी बनेका छन् । लुम्बिनीलाई पहिलोपटक च्याम्पियन बनाउने क्रममा उनले १० खेलमा ४६ रन बनाए । उनले एक चौका र चार छक्का प्रहार गरेका थिए ।

बलिङ क्रममा उनले १७ विकेट हात पारेका छन् । गत सिजन जनकपुरलाई उपाधि दिलाउने क्रममा शेरले आठमध्ये सात इनिङ्समा बलिङ गर्दै सात विकेट हात पारेका थिए ।

त्यसवेला उनको उत्कृष्ट प्रदर्शन ३/११ रहेको थियो । गत सिजनमा उनी धेरै विकेट लिने सूचीको २५औँ स्थानमा थिए । उनले जनकपुरबाट आठमध्ये पाँच इनिङ्समा ब्याटिङ गरी २४ रन जोड्दा तीन छक्का लगाएका थिए । 

सुझावित समाचार