लगातार ६ जित निकाल्दै लुम्बिनी च्याम्पियन

गत सिजन पुछारमा रहेको लुम्बिनीले दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जित्यो उपाधि

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को १३औँ खेलमा सुदूरपश्चिम रोयल्ससँग सात विकेटले पराजित हुँदा लुम्बिनी लोयल्स लिग चरणबाटै बाहिरिने अवस्थामा थियो । लिगको १७औँ खेलमा पोखरा एभेन्जससँग भिड्दा लुम्बिनी गर या मरको अवस्थामा पुगेको थियो । यो खेलमा पराजित हुँदा लुम्बिनीको शीर्ष चारको स्थान समीकरण समाप्त हुने थियो । तर, उसले पोखरालाई तीन विकेटले हराउँदै प्लेअफ आशा कायमै राख्यो । पोखराविरुद्धको जित लुम्बिनीलाई ‘लक्की’ साबित भयो । 

त्यसपछि लुम्बिनीले खेलमा फर्केर हेर्नुपरेन । लगातार ६ खेल जित्दै दोस्रो एनपिएलको ट्रफी नै लुम्बिनीले उचाल्यो । प्लेअफमा स्थान सुरक्षित नहुँदासम्म कप्तान रोहित पौडेलले लिग चरणका अन्तिम खेल नकआउट रूपमा रहेको प्रतिक्रिया दिएका थिए । उनी भन्थे, ‘लिग चरणमा पोखरा, विराटनगर र जनकपुरसँगका खेल लुम्बिनीले नकआउटजस्तै लिएको थियो । हारले लिग चरणबाटै बाहिरिने अवस्थामा हामी पुगेका थियौँ ।’ 

पोखरासँगको खेलपछि टिमवर्कको भावनामा प्रतिस्पर्धा गर्दै लुम्बिनीले बलिया टोलीलाई परास्त गर्दै सहजै फाइनलसम्म स्थान बनायो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्धको फाइनल रोमाञ्चक हुने अपेक्षा थियो । तर, फाइनल एक किसिमले एकपक्षीयजस्तै भयो । रोहितको ह्याट्रिक, शेर मल्ल तथा रुबेन ट्रम्पेलम्यानले समान तीन विकेट लिँदा लगातार दोस्रोपटक फाइनल खेलिरहेको सुदूरपश्चिम केवल ८४ रनमै समेटियो । 

८५ रनको सहज लक्ष्य पछ्याएको इनिङ्समा ओपनर दिनेश अधिकारीले दीपेन्द्रसिंह ऐरीको पहिलो ओभरमै २७ रन खोसेपछि लुम्बिनीले उपाधि भिडन्त नौ ओभरमै सकायो । लुम्बिनीले पावर प्लेमा दुई विकेट गुमाएर ६२ रन जोडेको थियो । गत सिजनमा लुम्बिनी पुछारमा रहेको थियो । दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरी लुम्बिनीले उपाधि जितेको हो । 

लगातार ६ खेलमा जित 
लिग चरणको पहिलो चार खेलसम्म लुम्बिनीले एक जित निकालेको थियो । आफ्नो पहिलो खेलमा उसले चितवनलाई ६ विकेटले हराएको थियो । कर्णालीसँग ९ विकेट, काठमाडौं गोर्खाजसँग २२ रन तथा सुदूरपश्चिमबाट सात विकेटले पराजित हुँदा लुम्बिनी अंकतालिकाको सातौँ स्थानमा थियो । अर्कोतिर, तत्कालका साबिक विजेता जनकपुर बोल्ट्सले एक खेलमा पनि जित निकाल्न नसक्दा आठौँ स्थानमा थियो । रनरेटमा मात्र लुम्बिनी जनकपुरभन्दा एक स्थानमाथि रहेको थियो । पाँचौँ खेलमा पोखराविरुद्धको जितले आत्मविश्वासका साथ लुम्बिनीले प्रत्येक खेलमा प्रतिस्पर्धा गर्यो । छैटौँ खेलमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनीले लिगकै अन्तिम खेलमा जनकपुरलाई चारै विकेटले हराउँदै आठ अंकका साथ शीर्ष चारमा पुग्यो । त्यसपछि इलिमिनेटरमा लुम्बिनीले काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर २ मा स्थान सुरक्षित गर्यो । फाइनल प्रवेशको खेलमा लुम्बिनीले विराटनगरमाथि ४० रनको एकपक्षीय जित निकालेर फाइनलमा स्थान बनायो । लुम्बिनीले च्याम्पियनशैलीमै फाइनलमा सुदूरपश्चिमलाई स्तब्ध पार्दैै लगातार ६ खेलमा अपराजित रहँदै उपाधि जित्न सफल भयो । 

बलिङमा बलियो लुम्बिनी
रमाइलो पक्ष के छ भने, लुम्बिनी च्याम्पियन हुँदा कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय योगदान दिएनन् । दोस्रो एनपिएल भरी नै कप्तान रोहितले कर्णाली याक्सविरुद्ध ४९ रन नै सर्वाधिक रह्यो । ब्याटिङमा मध्य प्रदर्शन गरेको लुम्बिनीले फास्ट तथा स्पिन बलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । विशेषत: इलिमिनेट देखि फाइनलसम्म उनीहरूको प्रदर्शन अब्बल रहे । स्पिनमा शेर मल्ल, रोहित, अभिषेक गौतम तथा तिलकराज भण्डारीले प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गरी टोलीलाई च्याम्पियन बनाए । विरानटगरविरुद्धको क्वालिफायर २ मा भण्डारीले १५ रन तीन विकेट लिए । शेरले सोही खेलमा दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसलाई आउट पारे । नामिबियाका फास्ट बलर रुबेन ट्रम्पेलम्यानले पहिलो ओभरमै सनसनीपूर्ण रूपमा दुई विकेट लिएका थिए । उपाधि भिडन्तमा रोहितले ह्याट्रिकसमेत गरे । दोस्रो एनपिएलमा सर्वाधिक विकेट लिने शीर्ष पाँचमध्ये दुई बलर लुम्बिनीका छन् । तेस्रो स्थानमा शेर तथा चौथो स्थानमा रुबेन रहे । यसैगरी, कप्तान रोहित नवौँ स्थानमा छन् । 

दोस्रोपटक चुक्यो सुदूरपश्चिम
पहिलो सिजनमाझैँ दोस्रोमा पनि सुदूरपश्चिमले लिग चरणदेखि क्वालिफायर वानसम्म उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सबाहेक अन्य ६ खेलमा सुदूरपश्चिमले विपक्षीमाथि एकपक्षीय जित निकाली क्वालिफायर वानमा स्थान बनाएको थियो । लिग चरणमा लगातार ६ खेल निकालेको सुदूरपश्चिम अन्तिम खेलमा विराटनगरबाट ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले क्वालिफायर वानमा विराटनगरलाई ७७ रनले हराउँदै सहजै फाइनलमा स्थान पक्का गर्यो । लगातार दोस्रोपटक फाइनल स्थान बनाएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गर्यो । गत सिजनमा जनकपुरविरुद्ध पहिलो ब्याटिङ गर्दै नौ विकेट गुमाएर १८४ रनको बलियो योगफल बनाएको थियो । तर, जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर सुदूरपश्चिमलाई उपाधि जित्न वञ्चित बनायो । दोस्रोपटकको उपाधि भिडन्तमा सुदूरपश्चिमले फितलो ब्याटिङ गर्दा नै उपाधि हात पार्न नसकेको हो । 

See More On

सुझावित समाचार