१० वैशाख २००६ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । पुष्पलाल श्रेष्ठको नेतृत्व (महासचिव)मा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजारमा नेकपा स्थापना भएको थियो । मोतीदेवीको भने भौतिक रूपमा उपस्थिति थिएन । कम्युनिस्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि नेपालमा राणाशासनको निरंकुशता कायम रहेका वेला जहानिया राणाशासनको अन्त्यसहितको लक्ष्य लिएर नेकपाको स्थापना भएको थियो । नेकपाले ११ असोज ००८ मा भारतको कोलकातामा प्रथम राष्ट्रिय सम्मेलन गरी जनवादी कार्यक्रम पारित गर्यो । प्रथम सम्मेलनबाट पुष्पलाल महासचिवमा चयन भए । पाँच सदस्यीय राजनीतिक समितिमा पुष्पलालसहित मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र भाइसाहेब भनिने भारतीय नागरिक अयोध्या सिंह थिए ।
नेपाल कम्युनिस्ट पार्टीको ०१० मा ललितपुरको पाटनमा भएको पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिव चयन गर्यो । १५ सदस्यीय कमिटीमा संस्थापक चारजना समेटिएनन् । पुष्पलाल पोलिटब्युरो सदस्य बने । पहिलो महाधिवेशनद्वारा निर्वाचित महासचिव मनमोहन चीनमा उपचारका लागि गएकाले दोस्रो महाधिवेशनमा उपस्थित भएनन् । डा. केशरजंग रायमाझीले नै कार्यवाहक महासचिवकै हैसियतले महाधिवेशन गराए । महाधिवेशनको झन्डोत्तोलन पुष्पलालले गरेका थिए ।
दोस्रो महाधिवेशन १५–२५ जेठ ०१४ मा काठमाडौंको दरबारमार्गमा भयो । सम्मेलनले पुष्पलालले प्रस्तुत गरेको संविधानसभा र गणतन्त्रको कार्यक्रमसहितको दस्ताबेज पारित गरेको थियो । रायमाझीले प्रस्तुत गरेको ‘पार्टीको कार्यक्रममा परिवर्तन किन ?’ नामक दस्ताबेज अस्वीकृत भएको थियो । तर, नेतृत्वमा चाहिँ रायमाझी नै छानिएका थिए । पार्टी रायमाझी गुटको नियन्त्रणमा रह्यो । १७ मतमध्ये १२ मत रायमाझीले पाएका थिए । पुष्पलालले पाँच मत मात्रै पाए । पुष्पलाल पोलिटब्युरोमा समेटिए भने अधिकारी कमिटीमा समेटिएनन् । रायमाझीले महाधिवेशनबाट पारित कार्यक्रम लागू गर्न ध्यान दिएनन् । दुई–दुई वर्षमा महाधिवेशन गर्ने दोस्रो महाधिवेशनको निर्णयलाई पनि रायमाझीले उल्लंघन गरे । १ पुस ०१७ सालमा तत्कालीन राजा महेन्द्रको ‘कु’लाई रायमाझीले ‘प्रगतिशील कदम’ भनेर स्वागत गरे । पुष्पलालको नेतृत्वमा उक्त कदमको विरोध गर्दै सघंर्षको कार्यक्रम घोषणा गरियो ।
रायमाझीले तत्कालीन राजाको कदमको समर्थन गरेपछि ०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले विस्तारित बैठक बोलायो । ०१८ भदौमा दरभंगामै तुल्सीलाल अमात्य सचिव रहेको अन्तरजोन समिति गठन गरिएको थियो । तुल्सीलालले भारतमा रहेका पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीसँग समन्वय गरेर नेकपालाई अघि बढाउने प्रयास गरेका थिए । अन्तरजोन समितिको निर्णयअनुसार ४–१५ वैशाख ०१९ मा नेकपाको तेस्रो महाधिवेशन भारतको बनारसमा भएको थियो । महाधिवेशनले तुल्सीलालले प्रस्तुत गरेको ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गरेको थियो भने महासचिवमा पनि उनलाई नै चयन गरेको थियो ।
छरिएर रहेको कम्युनिस्ट आन्दोलनको संयोजन गर्न २० मंसिर ०२८ मा मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायतका नेताहरूको सक्रियता र सहभागितामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि कोसिस गरिएको थियो । तर, पुष्पलाल त्यसमा सहमत भएनन् । कम्युनिस्ट आन्दोलनमा नयाँ विभाजन देखापर्यो । ३० भदौदेखि ७ असोज ०३१ मा भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा चौथो महाधिवेशन आयोजना भयो । जसलाई चौथो महाधिवेशन (चौम)को नामले चिनिन थाल्यो । अर्को समूहले ०३६ मा एकता सम्मेलन गरी नेकपा घोषणा गर्यो ।
नेकपामा फुट र विभाजनका कारणले धेरै समूह देखापरे । ०२८ मै पूर्वकोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले सशस्त्र संघर्षको घोषणा गर्यो । त्यही क्रममा ०३२ जेठमा कोअर्डिनेसन केन्द्र (को–के) गठन भयो । को–के अघि बढ्दै जाँदा ११ पुस ०३५ मा मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) गठन गरियो । सिपी मैनाली महासचिव बने । मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव बने । झलनाथले मदन भण्डारीलाई नेतृत्व हस्तान्तरण गरे । चौथो महाधिवेशनलाई मान्यता नदिएर मालेले ९–१४ भदौ ०४६ मा सिराहाको विष्णुपुरकट्टीमा चौथो महाधिवेशन आयोजना गर्यो । महाधिवेशनबाट मदन भण्डारी महासचिवमा छानिए । ०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच एकता भई नेकपा (एमाले) गठन भयो र अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदन भण्डारी चयन भए ।
एमालेले १४–२० माघ ०४९ मा काठमाडौंमा पाँचौँ महाधिवेशन गर्यो । जनताको बहुदलीय जनवाद (जबज) को कार्यक्रम पारित गर्दै महाधिवेशनले माक्र्सवादीबाट आएका मनमोहन अधिकारीलाई अध्यक्ष र मालेबाट आएका मदन भण्डारीलाई महासचिवमा चयन गर्यो । ०५० मा मदनको जिप दुर्घटनामा मृत्यु भयो । माधव नेपाल कार्यवाहक महासचिव भए ।
१२–१८ माघ ०५४ मा एमालेको छैटौँ महाधिवेशन नेपालगन्जमा भयो । महाधिवेशनले अधिकारीलाई अध्यक्ष र नेपाललाई महासचिवमा निर्वाचित गर्यो । महाकाली सन्धिको विवाद महाधिवेशनले मिलाउन सकेन । पार्टी विभाजन भयो । वामदेव गौतमले माले गठन गरे । मालेले विभाजनको औचित्य पुष्टि गर्न सकेन । आमनिर्वाचनमा एक सिट पनि जित्न नसकेपछि ०५८ मा वामदेव एमालेमा फर्किए ।
सातौँ महाधिवेशन १८–२२ माघ ०५९ मा जनकपुरमा भयो । महाधिवेशनमा सुरुमा केपी ओलीले माधवकुमार नेपाललाई चुनौैती दिएका थिए । महाधिवेशनमा महासचिवको तर्फबाट राजनीतिक संगठनात्मक प्रतिवेदन र ओलीले ‘पार्टी जीवनको प्रजातान्त्रीकरणसम्बन्धी धारणा र विधान संशोधन मस्यौदा प्रस्तावसहित चारवटा दस्ताबेज प्रस्तुत गरेका थिए । तर, महासचिवको बाहेक अन्य दस्ताबेज स्थगित गरिएको थियो । नेतृत्वमा ओलीले दाबी गरे पनि जित्ने स्थिति नभएपछि नेपाललाई नै समर्थन गरेका थिए । नेपाल नै महासचिवमा दोहोरिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमाले तेस्रो दल बनेको र महासचिव नेपाल पनि पराजित भएपछि उनले नेतृत्व छाडे र झलनाथ खनाल कार्यवाहक महासचिव बने ।
कार्यवाहक महासचिव झलनाथ खनालको नेतृत्वमा एमालेको आठौँ महाधिवेशन ५–१४ फागुन ०६५ बुटवलमा भयो । महाधिवेशनबाट एमाले बहुपदमा गयो । खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संगठन विभाग प्रमुख अमृत बोहराले विधान संशोधन प्रस्ताव गरे र अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहितको बहुपदीय व्यवस्था गरियो । अध्यक्षसहित सबै पदमा निर्वाचन भयो । अध्यक्षमा झलनाथ खनाल निर्वाचित भए भने केपी ओली पराजित भए ।
नवौँ महाधिवेशन १९ असार–१ साउन ०७१ मा काठमाडौंको भृकुटीमण्डपमा भयो । नवौँ महाधिवेशनमा अध्यक्षमा केपी ओली र माधवकुमार नेपालबिच प्यानलगत प्रतिस्पर्धा भयो । नवौँ महाधिवेशनमा ‘कक्ष नदोहोर्याउने’ घोषणा गर्दै एकपटक अध्यक्षमा निर्वाचित गर्न ओलीले आग्रह गरे । ओली अध्यक्षमा निर्वाचित भए । महासचिवमा पनि ओली प्यानलबाट ईश्वर पोखरेल निर्वाचित भए । उपाध्यक्ष, उपमहासचिव र सचिवमा भने दुवै पक्षबाट बराबरीजस्तै निर्वाचित भए । यहीबिचमा एमाले र माओवादीबिच ०७४ को दसैँको एकताको सहमति भयो ।
एमालेलाई ६० प्रतिशत र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँड गरेर निर्वाचनमा गए । एमाले र माओवादी मिलेर ३ जेठ ०७५ मा नेकपा बन्यो । २३ फागुन ०७७ को सर्वोच्चको फैसलाबाट नेकपा एकता बदर भयो । दुबै दल पूर्ववत् अवस्थामा फर्किए ।
एमालेको १०औँ महाधिवेशन १०–१४ मंसिर ०७८ मा चितवनमा भयो । चितवनको नारायणी किनारामा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सौराहामा भयो । नवौँ महाधिवेशनको प्रतिबद्धताविपरीत ओली दोहोरिएर अध्यक्ष बन्ने घोषणा गरे । तत्कालीन उपाध्यक्ष भीम रावलले ओलीविरुद्ध उम्मेदवारी दिए । ओलीले महाधिवेशनमा ‘लिस्ट’ नै बाँडेर निर्वाचित गराए । महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई निर्वाचनमा टिकट पनि दिएनन् ।
विवाद र विभाजनको शृंखला
- डा. केशरजंग रायमाझीले पञ्चायत शासनको समर्थन गरेपछि कम्युनिस्ट आन्दोलनमा औपचारिक विभाजन सुरु भएको थियो । रायमाझीको नेतृत्वमा बहुमत सदस्यले पञ्चायतको समर्थन गरेपछि अल्पमत समूहले राष्ट्रिय सम्मेलन गरेर पार्टी पुनर्गठन गरेका थिए । ०१८ भदौमा दरभंगामा तुल्सीलाल अमात्य सचिव रहेको अन्तरजोन समिति गठन गरिएको थियो । अन्तरजोन समितिको निर्णयअनुसार ४–१५ वैशाख ०१९ मा नेकपाको तेस्रो महाधिवेशन भारतको बनारसमा भएको थियो । महाधिवेशनले तुल्सीलालले प्रस्तुत गरेको ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गरेको थियो भने महासचिवमा पनि उनलाई नै चयन गरेको थियो । तर, विवाद बढ्दै गयो । तुल्सीलालले ‘कुन बाटो ?’ र पुष्पलालले ‘मूल बाटो’ नामक पुस्तिका नै प्रकाशित गरे । पुष्पलाल र तुल्सीलालबिचको विवाद चर्किँदै जाँदा २०२५ सालमा पुष्पलालले भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरी अलग समूह ‘पुष्पलाल समूह’घोषणा गरे । त्यसपछि कम्युनिस्ट पार्टी धेरै समूहमा विभाजित भयो ।
- छरिएर रहेको कम्युनिस्ट आन्दोलनको संयोजन गर्न २० मंसिर ०२८ मा मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायतका नेताहरूको सक्रियता र सहभागितामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि कोसिस गरिएको थियो । तर, पुष्पलाल त्यसमा सहमत भएनन् । कम्युनिस्ट आन्दोलनमा नयाँ विभाजन देखापर्यो ।
- ३० भदौदेखि ७ असोज ०३१ सालमा भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा चौथो महाधिवेशन आयोजना भयो । जसलाई चौथो महाधिवेशन (चौम)को नामले चिनिन थाल्यो । अर्को समूहले ०३६ सालमा एकता सम्मेलन गरी नेकपा घोषणा गर्यो ।
- नेकपामा फुट र विभाजनका कारणले धेरै समूह देखापरे । ०२८ सालमै पूर्व कोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले सशस्त्र संघर्षको घोषणा गर्यो । त्यहीक्रममा ०३२ जेठमा कोअर्डिनेसन केन्द्र (को–के) गठन भयो । को–के अघि बढ्दै जाँदा ११ पुस ०३५ मा मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) गठन गरियो ।
- ०३९ मा मालेभित्र खटपट भयो, जतिवेला सीपी मैनाली महासचिव थिए । मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव बने । झलनाथले मदन भण्डारीलाई नेतृत्व हस्तान्तरण गरे ।
एमाले–माले विभाजन
२०५१ को मध्यावधि निर्वाचनमा एमाले ८८ सिट जितेर ठुलो दल बन्यो । ४ असोज २०५३ मा संसद्बाट दुईतिहाइ बहुमतले महाकाली सन्धि पारित भएसँगै एमालेमा विवाद बढ्यो । महाकाली सन्धिको विरोध गर्दै वामदेव गौतमले ०५४ फागुनमा एमाले विभाजन गरेर माले गठन गरे ।
एमाले–एकीकृत समाजवादी विभाजन
एमालेबाट विद्रोह गरी ०७८ भदौमा पूर्वमहासचिव माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरे । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ पुस ५ मा असंवैधानिक रूपमा संसद् विघटन गरेपछि तत्कालीन नेकपामा विवाद चुलिएको थियो । दुई अध्यक्ष ओली र प्रचण्ड दुई खेमामा विभाजित भएका थिए । प्रचण्डलाई नेपालले साथ दिएका थिए । एकले अर्कालाई कारबाहीको शृंखला चलिरहेको वेला सर्वोच्च अदालतले एकता भंग गरिदिएको थियो । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएको वेला नेपाल पक्षले एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी गठन गरेको हो । एकीकृत समाजवादी, माओवादीसहितका १७ दल/समूह मिलेर हाल नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।