प्यानल बनाउँदै ओली र पोखरेल

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

१५ सदस्यीय पदाधिकारीसहित केन्द्रीय कमिटीकै प्यानल बनाउने गरी अध्यक्षका उम्मेदवार अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह दुवैले आन्तरिक गृहकार्य सुरु गरेका छन् । अहिलेलाई प्यानल नभनिहाल्ने, तर उम्मेदवारी मनोनयनपछि सार्वजनिक गर्ने गरी दुवै पक्षले आ–आफ्नो टिम निर्माणको गृहकार्य सुरु गरेका हुन् ।

ओली समूहले पदाधिकारीबाहेक समेट्नुपर्ने केन्द्रीय सदस्यहरूको प्रारम्भिक सूची तयार गरिसकेको उनीनिकट एक नेताले बताए । ओली समूहमा सबैभन्दा पेचिलो पद महासचिव बनेको छ । ओलीले पुन: शंकर पोखरेललाई नै महासचिव दोहोर्‍याएर प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन गर्न खोजेका छन् ।

तर, उपाध्यक्ष तीनवटा मात्र रहेकाले विष्णु पौडेल पनि दोहोरिने र रामबहादुर थापालाई पनि दोहोर्‍याउनुपर्ने भएकाले ज्ञवाली र गुरुङमध्ये एकलाई मात्र उपाध्यक्ष बनाउन सकिने बाध्यतामा ओली छन् । गुरुङलाई उपाध्यक्षमा व्यवस्थापन नगर्दा टिममै अप्ठ्यारो पर्न सक्ने र अर्को समूहले महासचिवको उम्मेदवार बनाउन सक्नेतर्फ पनि ओली पक्षले ध्यान दिइरहेको एक नेताले बताए । उपमहासचिव ज्ञवालीले पुन: नदोहोरिने भन्दै महासचिवकै लागि अडान राखिरहेको स्रोतले जनाएको छ ।

त्यस्तै, उपमहासचिवमा पुन: विष्णु रिमाल दोहोरिँदा पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टसम्मलाई कसरी व्यवस्थापन गर्ने ओलीलाई चुनौती छ । सचिवहरूको उपमहासचिवमा बढुवा नहुँदा महासेठ, विश्वकर्मा र भट्टमध्ये दुईजना अर्को टिममा जाने खतरा छ । उपमहासचिवमै भानुभक्त ढकालले पनि रुचि राखेका छन् । त्यस्तै, सात सचिवमा नयाँ अनुहारसहितका नेतालाई प्रत्येक प्रदेशबाट एकजना समेट्नुपर्ने चुनौती छ । 

अर्कोतिर, पोखरेल पक्षले उपाध्यक्षमा युवराज ज्ञवालीलाई दोहोर्‍याउने तयारी गरेको छ । अष्टलक्ष्मी शाक्यलाई पनि उपाध्यक्षमै दोहोर्‍याउने, उनी नदोहोरिँदा विन्दा पाण्डे उठाउने, अर्को टिमबाट आउन सक्ने सम्भावित सचिव महासेठ, भट्ट र विश्वकर्मामध्ये सबैलाई उपाध्यक्ष र उपमहासचिवमा पनि व्यवस्थापन गर्न सकिने गरी छलफल सुरु गरेको छ । महासचिवमा भने उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उठाउने सम्भावना बलियो बन्दै गएको उनीनिकट एक पदाधिकारी तहका नेताले बताए । पाण्डेले पनि उपाध्यक्षमा भन्दा कार्यकारी पद महासचिवमै बढी रुचि देखाएका छन् । 

त्यसो हुँदा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट उपमहासचिवमा उठ्ने या अर्को टिमबाट आएकालाई छोडेर सचिवमै दोहोरिनसमेत तयार देखिएका छन् । सचिवहरूमा भने गोकुल बाँस्कोटा, कर्ण थापा, विनोद ढकालदेखि ४० वर्ष कम उमेरसमूहलाई समेत ध्यान दिँदै रचना खड्कालाई उठाउने गरी प्रारम्भिक छलफल चलिरहेको एक पदाधिकारीले बताए । 

आजबाट भृकुटीमण्डपमा बन्दसत्र र निर्वाचन प्रक्रिया
आइतबार बिहानैबाट भृकुटीमण्डपमा ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय सचिवालयले नै अध्यक्षमण्डलको काम गर्ने निर्णय गरेकाले उसैले बन्दसत्र सुरु गर्नेछ । र, केन्द्रीय निर्वाचन आयोगलाई कामको जिम्मा दिनेछ । आइतबारबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘दुई हजार २६२ प्रतिनिधिको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन, निर्वाचनको कार्यतालिका प्रकाशन गरेर आइतबार बिहानैबाट क्रमश: प्रक्रिया अगाडि बढ्छ,’ गौतमले भने, ‘सम्भवत: सोमबार उम्मेदवारी मनोनयन हुनेछ ।’

तर, निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले निर्वाचित हुने क्लस्टर टुंग्याएर दिएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज हुने बताए । ‘क्लस्टर टुंगिएर आयो भने आइतबारबाटै पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ सुब्बाले भने । उम्मेदवारी मनोनयनपछि भोटिङ मेसिनमा अल्फाबेटिकल्ली फोटोसहितको नामको सूची राख्न कम्तीमा १५ घण्टा लाग्ने उनको भनाइ छ । नियमित रूपमा काम अगाडि बढ्दा १ पुसमा मतदान सकेर ढिलोमा २ गते बिहानभित्र परिणाम सार्वजनिक गर्न सक्ने योजना रहेको उनले सुनाए । उनका अनुसार ८० वटा भोटिङ मेसिनमा मतदान गराउने र एकजना प्रतिनिधिलाई मत दिन २५ मिनेट लाग्ने अनुमान छ । उनले मतदान सकिएको तीन घण्टाभित्र परिणाम सार्वजनिक गर्न सकिने बताए । 

बन्दसत्र सञ्चालनका लागि प्रदीप ज्ञवालीको नेतृत्वमा प्रस्ताव लेखन र पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा माइन्युटिङ कमिटी बनाउने सचिवालयले निर्णय गरेको थियो । थप समिति र सदस्यहरू अध्यक्षमण्डलले नै बनाउनेछ भने डा. सुब्बा नेतृत्वको निर्वाचन आयोगले निर्वाचनसम्बन्धी काम गर्नेछ । 

उद्घाटन समारोहमा अध्यक्षका प्रत्याशी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेनन् । उपमहासचिव प्रदीप ज्ञवालीको सञ्चालन, अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको मन्तव्य आउँदा वरिष्ठ उपाध्यक्ष पोखरेल बोलेनन् । स्रोतका अनुसार स्वागत सम्बोधन गर्न ओलीले गरेको प्रस्ताव पोखरेलले अस्वीकार गरेका थिए । आफूलाई पनि वक्ता राख्नुपर्ने पोखरेलको अडान थियो ।

ओलीले एकलौटी प्रतिनिधि मनोनीत गरेको पोखरेलको आरोप 
अध्यक्ष केपी ओलीले एकलौटी प्रतिनिधि मनोनीत गरेको भन्दै अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र उनीनिकट नेताहरूले गम्भीर आपत्ति जनाएका छन् । शनिबार बिहान १०८ जना मनोनीत प्रतिनिधिको सूची सार्वजनिक भएलगत्तै अध्यक्षका उम्मेदवार पोखरेलले त्यसप्रति आपत्ति जनाएका हुन् । ओलीले केन्द्रीय सचिवालयको शुक्रबारको बैठकमा १०८ जनाको नाम प्रस्ताव गरेका थिए । तर, त्यसमा विवाद भएपछि सहमतिमा टुंग्याउने भनिएको थियो । ‘तर, सल्लाह नै नगरी नामसूची आएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,’ पोखरेलले भने । पोखरेल पक्षले १०८ जनामा आफ्नो पक्षबाट भेषराज अधिकारीसहित १० जनासम्म मात्र मनोनीतमा पारिएको निष्ष्कर्ष निकालेको छ । तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने पोखरेलसँगको सहमतिमै मनोनीत प्रतिनिधिको नाम टुंगिएको दाबी गरे । ‘एकलौटी होइन, सहमतिमै टुंगिएको हो, छुटपुट नामसमेत समावेश गरेर सार्वजनिक गरिएको छ, त्यसैले उहाँहरूको दाबी झुटो हो,’ उनले भने । 

११औँ महाधिवेशनका प्रतिनिधि र शुभेच्छुकमाझ ओलीले सुनाए प्राथमिकता : चुनावी वातावरण बनेको छैन, संसद् पुनर्स्थापना हुनुपर्छ
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको कार्यादेश पाएको अन्तरिम सरकारले ठोस वातावरण बनाउन नसकेको दाबी गर्दैै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा पुन: जोड दिएका छन् । पार्टीको सबैभन्दा ठुलो फोरम मानिने महाधिवेशनको उद्घाटन सत्रमा ओलीले एमाले निर्वाचनबाट भाग्ने दल नभएको जिकिर गर्दै अहिलेको अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना नै निकास हुने दाबी गरेका छन् ।

भक्तपुरको सल्लाघारीमा शनिबार एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशन प्रतिनिधि र सहभागीमाझ आगामी प्राथमिकताबारे स्पष्ट सन्देश सुनाएका छन् । उद्घाटन समारोहमा ओलीले करिब आठ दशकको इतिहासमा पार्टीले स्थापित गरेका मानक, जेन–जी आन्दोलन, आगामी राजनीतिक बाटो र पार्टी एकतामाथि केन्द्रित रहेर लिखित मन्तव्य दिएका थिए । 

संविधान र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभा पुनर्स्थापना अनिवार्य भएको उनको जिकिर छ । ‘सरकारलाई २१ फागुनमा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन । चुनाव चाहने सरकारले के गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो, निर्णयमा पारदर्शिता देखाउँथ्यो, सभा, जुलुस खुला गथ्र्यो । दलका गतिविधि प्रोत्साहित गथ्र्यो । चुनावको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गथ्र्यो,’ ओलीले भने, ‘तर, अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान हद, निषेधाज्ञा । यसरी चुनावको वातावरण बन्छ कि डरको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ ?’ 

चुनावको वातावरण बनाउँदा एमाले चुनावबाट नभाग्ने भन्दै उनले त्यस्तो वातावरण नभएकै कारण प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको ओलीको जिकिर थियो । ओलीले संसद् पुनर्स्थापनाको मुद्दामा सहकार्य गर्न अन्य दलसँगसमेत आग्रह गरे । ‘म उपस्थित सबै दलका नेतागणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यस संकटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभई सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्दछु,’ उनको आह्वान थियो । 

उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरिएको थियो । तर, कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेपाली कम्युनिस्ट पार्टीबाट देव गुरुङ सहभागी भएका थिए ।

ओलीले देशलाई असफल राज्य बनाएर राज्यविहीनताको अवस्थामा पुर्‍याउने लामो गम्भीर षड्यन्त्रकै कारण जेन–जी आन्दोलनमा ठुलो विध्वंस मच्चिएको जिकिर पनि गरे । ‘भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो कि त्यसको आडमा अर्को ठुलो खेल चलिरहेको थियो ? त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो कि त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ?’ प्रश्नको जवाफ दिँदै उनले भने, ‘भ्रममा पर्नैहुन्न– स्थिरताको वाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नैपर्थेन, संसद्बाटै त्यो काम गर्न सकिन्थ्यो या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर, यो त संविधान, संवैधानिक प्रक्रिया र सात दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने, राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो ।’ उनले जेन–जी आन्दोलनमा गम्भीर घुसपैठ भएको दाबी गर्दै विध्वंसका घटना केवल सत्ता परिवर्तनका लागि मात्र नभएको तर्क गरे ।

तेस्रोपटक अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका ओलीले एउटै दिशा र लयमा उभिएको पार्टी निर्माणमा योगदान पुर्‍याउन आह्वान गरे । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल तथा प्यानल उम्मेदवारीको गृहकार्यमा रहेका आफ्ना समर्थक नेता–कार्यकर्तालाई लक्षित गर्दै उनले एकताको आवश्यकता औँल्याए । तर, एकताका लागि स्पष्ट रोडम्याप भने प्रस्तुत गरेनन् । साथै, उनले बलियो राष्ट्रिय शक्ति बन्ने अभियानका लागि हात र मन मिलाएर अघि बढ्न, एकताबद्ध र सशक्त पार्टी निर्माणमा योगदान गर्न सबैलाई आह्वान गरे । 

ओलीले एकताको पहिलो सर्त सुरक्षित नेपाल हुने बताए । ‘सुरक्षित नेपालको पहिलो सर्त के हो ? हामी–हामीबिचको एकता– एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी ११औँ महाधिवेशनमा छौँ । यसको अंक ११ लाई एकछिन ध्यान दिएर हेरौँ– ११ मा दुईवटा एक हुन्छन्,’ ओलीले भने, ‘तर, छुट्टाछुट्टै, टाढाटाढा एक होइनन्, एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन् । छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै ११ बन्छौँ, बलियो शक्ति बन्छौँ ।’

उनले एकताबद्ध एमाले बनेको अवस्थामा मात्र ११औैँ महाधिवेशन सार्थक बन्ने भन्दै त्यसका लागि आह्वान पनि गरे । ‘एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे– हामी साधारण ‘एकएक, एक’ मात्र रहनेछौँ । तर, एउटाले अर्कोको हात समायो, मन मिलायो– हामी एक–एक– ११ बन्छौँ, हामी ११ बन्दै अघि बढ्यौँ भने यो ११औँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुन्छ ।’

एमालेलाई जेन–जीविरोधी पार्टीका रूपमा आरोपित गर्नु कुनै नौलो नभएको ओलीको भनाइ थियो । ‘जुन पार्टीले आफ्ना सबै संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था गरेको छ, कसरी नयाँ पुस्ता विरोधी हुन्छ ? जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाको आशालाई हेरेर सिप विकास कार्यक्रम विस्तार गर्‍यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो यो कसरी जेन–जीभन्दा टाढा हुन सक्छ ?’ ओलीले भने । 

उनले जेन–जी पुस्तालाई आग्रह गर्दै भने, ‘म युवापुस्तालाई भन्न चाहन्छु— असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस्, तर एउटा कुरा नबिर्सनुस्— आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेको दलविना लोकतन्त्र सम्भव छैन ।’

एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका अवसरमा पार्टीको पक्षमा बलियो जनमत रहेको सन्देश दिने गरी शक्ति प्रदर्शन गरेको छ । जेन–जी आन्दोलनपछि सरकारबाट विस्थापित एमालेले भक्तपुरस्थित सल्लाघारीको १०८ रोपनी क्षेत्रफलमा जुलुससहितको शक्ति प्रदर्शन गरेको हो । एमालेले यस प्रदर्शनलाई लोकतन्त्र र संविधानलाई सही लिकमा ल्याउने पक्षमा देखिएको ‘मिनी जनमत’का रूपमा दाबी गरेको छ । उद्घाटन समारोहमा उपत्यकासँगै बागमती, गण्डकी र मधेश प्रदेशबाट व्यापक सहभागिता जुटाइएको थियो ।

महाधिवेशनमा कुन दलका नेताले के भने ? 
पूर्णबहादुर खड्का, कार्यवाहक सभापति, कांग्रेस 
पार्टी फुट्दा र जुट्दाको अनुभूत हामीले भोगेका छौँ, त्यो हामीले पनि भोगेका छौँ, एमालेले पनि भोगेको छ, अरू दलहरूले पनि भोगेका छन्, साना मनमुटावका कारण पार्टीमा कुनै समस्या नआओस् भन्ने सबै नेता–कार्यकर्तामा आग्रह गर्न चाहन्छु । महाधिवेशनमा पार्टी नेतृत्वको विषय उठ्ने भएकाले एमाले त्यसमा सचेत होस्, संकटमा सबै नेताहरूको यसमा ध्यान पुग्योस् । सकेसम्म सहमतिमा नेतृत्व छानोस् नभए मैत्रीपूर्ण प्रतिस्पर्धा होस् ।’

देव गुरुङ, नेता, नेपाली कम्युनिस्ट पार्टी
कम्युनिस्टहरू नै देशभक्त हुन्छन् भन्ने विगतको इतिहासदेखि नै साबित हुँदै आएको छ, त्यसैले संकट परेका वेला सबै कम्युनिस्टहरू मिलेर अगाडि बढ्नुको कुनै विकल्प छैन । नेपालको कम्युनिस्ट आन्दोलन विखण्डन हुँदै आएको छ । यसलाई एकताबद्ध नगरी लोकतन्त्रको रक्षा गर्न कठिन छ । समाजवादी प्रणालीको स्थापना गर्न कठिन छ । 

नेत्रविक्रम चन्द विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी
विध्वंसपछि एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जटिल प्रश्न थियो, एमालेले त्यो जवाफ आजको सभाबाट दिएको छ । नेपाली जनताले मात्र होइन नेपालप्रति गिद्देदृष्टि राख्नेहरूले जवाफ पाएका छन् । यो सहभागिता दलहरूले देश सम्हाल्न सक्छन् भन्ने सन्देश हो । धेरैले कम्युनिस्टहरू अब देशमा सकिए, नेतृत्व गर्न सक्दैनन् भनेका थिए । यो सहभागिताले संसारभरलाई ठुलो सन्देश दिएको छ ।

कवीन्द्र बुर्लाकोटी, महामन्त्री, रास्वपा
निर्वाचनबाटै मुलुकको संकटको निकास खोजिनुपर्छ । एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि जनतामा गएर नयाँ म्यान्डेटसहित अगाडि बढ्नुको विकल्प छैन ।

राजेन्द्र लिङ्देन, अध्यक्ष, राप्रपा
अहिलेको संकटको घडीमा परम्परागत शक्ति, राजनीतिक दल र जेन–जी समूहहरूबिच नवीन समझदारी आवश्यक छ ।

सुरेन्द्र झा, महामन्त्री, लोसपा
संविधान संशोधनको अगुवाइ गर्न म एमालेको ध्यानाकर्षण गराउँछु । 

विश्लेषकको नजरमा एमालेको ११औँ महाधिवेशन- एकजना नेतालाई अध्यक्ष बनाउने उद्देश्यमा सीमित हुँदै गएको देखिन्छ : श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक
पहिला–पहिला एमालेका कार्यकर्ताबिच विचार र राजनीतिक बहस सशक्त रूपमा हुन्थ्यो । ती छलफलहरू बाहिरी तहसम्म सार्वजनिक हुन्थे, जसका कारण सर्वसाधारणले पनि एमालेभित्र के–कस्तो बहस चलिरहेको छ भन्ने बुझ्न पाउँथे । तर, अहिले त्यो सैद्धान्तिक र राजनीतिक बहस हराउँदै गएको छ । अझ भनौँ एमालेमा बहस नै हुन छाडेको छ । एकजना नेताले जे बोल्छन्, त्यही आदेशझैँ मानिने अवस्था बनेको छ । यही अहिले एमालेको नियति बनेको देखिन्छ । यसरी पार्टी कति समयसम्म अघि बढ्न सक्छ भन्ने प्रश्न अझै खुलै छ। 

एमालेको मार्क्सवाद–लेनिनवाद कहाँ पुग्यो भन्ने नै अनिश्चित भएको छ । अहिले पार्टीमा नाम मात्रको एकीकृतता बाँकीजस्तो देखिन्छ । त्यो पनि कति समय टिक्छ भन्ने प्रश्न छ, किनभने एमाले सर्वसाधारण जनताका मुद्दाबाट क्रमश: अलग्गिँदै गएको छ । उत्पीडित वर्गको प्रतिनिधित्व गर्ने उद्देश्यले गठन भएको एमालेले विगतमा लामो समयसम्म त्यो भूमिका निर्वाह गर्‍यो । तर, अहिले पार्टी एकजना नेतालाई अध्यक्ष बनाउने उद्देश्यमा सीमित हुँदै गएको देखिन्छ । लक्ष्य, उद्देश्य र सिद्धान्तभन्दा एमाले धेरै भड्किएको, आफ्नो लिकबाट टाढा पुगेको अनुभूति हुन्छ।

यो नियमित महाधिवेशन हो, हुनैपथ्र्यो र भएको पनि छ । तर, समयको धड्कनले के संकेत गरिरहेको छ ? हालैका आन्दोलनहरूले के माग गरिरहेका छन् ? ती प्रश्नको जवाफ महाधिवेशनको एजेन्डामा खासै देखिँदैन । त्यस अर्थमा एमाले समयको मागभन्दा धेरै पर पुगेको जस्तो देखिन्छ।

एमाले अझै पनि मूल प्रवाहको पार्टी हो, तर अहिले त्यो दक्षिणपन्थी मूल प्रवाहतर्फ ढल्किएको छ । चुनावकेन्द्रित राजनीतिमा अल्झिएर जनताको वास्तविक मुद्दामा काम गरेको देखिँदैन । न त तल्लो वर्गका सवाल उठाइएका छन्, न हलिया, कमैया, हरवा–चरवाका मुद्दा नै सम्बोधन गरिएका छन् । बिचौलियाको मारमा परेर हैरान भएका सर्वसाधारण जनताका पक्षमा न त एमालेले खुलेर बोलेको छ, न त ठोस कदम नै चालेको छ ।
 

सुझावित समाचार